प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज भविष्य बचाउने प्रयास भएको बताएका छन्।
विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले यस्तो बताएका हुन्। उनले भने, 'यो भविष्य बचाउने प्रयास हो। यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।'
साथै, शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने प्रयास पनि भएको बताउँदै उनले भने, 'त्यसैले तपाईँहरूकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौँ।'
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विद्यार्थी संगठन र ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरुद्धको लडाइँ नभएको समेत दाबी गरे। उनले भनेका छन्, 'हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन। यो कुनै पार्टीविरुद्धको लडाइँ होइन। यो प्रणाली बचाउने प्रयास हो।'
प्रकाशित: २२ वैशाख २०८३ १०:०३ मंगलबार