रसुवा भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको तथ्यांक यकिन गर्न ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल गरिएको छ।
प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा भएको छलफलमा बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक संख्या यकिन गर्ने विषयमा गहन छलफल भएको हो।
छलफलमा विशेषगरी एउटै व्यक्तिको नाम सम्बन्धित जिल्लाका साथै बाढी प्रभावित रसुवा र नुवाकोटमा आफन्तले समेत टिपाएको पाइएकाले तथ्यांकमा दोहोरोपन देखिएको विषय उठाइएको थियो।
त्यसलाई सच्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लामा रहेका सम्पर्कविहीन व्यक्तिको विवरण यकिन गरी सेतु एपमा प्रविष्ट गर्ने सहमति भएको छ।
यस प्रक्रियाबाट दोहोरिएका नाम हटाई भोटेकोशी बाढीमा वास्तविक रूपमा सम्पर्कविहीन भएका व्यक्तिको यकिन तथ्यांक तयार गर्ने उद्देश्य रहेको छ।
प्रकाशित: ५ आश्विन २०८३ १३:५८ सोमबार