राजनीति

पूर्व राजपरिवारका सदस्यको संलग्नतामा पार्टी खोल्न छलफल !

पूर्वराजा वा परिवारका सदस्यहरुको सहभागीतामा नयाँ दल खोल्न छलफल थालिएको छ । मुलुकमा गणतन्त्र स्थापना भएपछि नागरिक सरह भएका राजपरिवारका सदस्यले आफ्नो संलग्नतामा दल खोल्न आन्तरिक छलफल थालिएको हो ।  

लामो समयदेखि राजा वा राजसंस्था आवश्यकताको नारा दिएर राजनीति गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी वा अन्य संस्थाभन्दा फरक ढंगले नयाँ पार्टी खोल्ने गरी पूर्व राजपरिवारका सदस्यहरुले छलफल थालेको स्रोतको दावी छ ।  

हिमानी ट्रष्टको नाममा पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक काम गर्दै आएकी छिन् । उनको संस्थाको सहयोगमा पार्टी दर्ता गर्ने वा अन्य कोही व्यक्तिलाई अघि सारेर राजपरिवारका सदस्यहरु प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगमा रहने भन्नेबारेमा छलफल थालिएको हो । यद्यपी राजपरिवारका सदस्यहरु यो विषयमा मुख खोलिसकेका छैनन ।  

पूर्वयुवराज्ञी हिमानी शाहको प्रत्यक्ष नेतृत्वमा सञ्चालित ‘हिमानी ट्रष्ट’बारे अवगत नै छ । विगत १५ वर्षदेखि सामाजिक काममा यो संस्था छ । हिमानी ट्रष्ट अस्तित्वमा आएदेखि नै निरन्तर विभिन्न सामाजिक कार्यमा लागिपर्दै आएको छ । बाढी–पहिरोले सताउँदा होस् या आमजनता भोकमरीको चपेटामा परेको अवस्थामा, स्वास्थ्य–शिक्षाजस्ता आधारभूत कुराको पहुँचबाट टाढा रहेका विपन्न बालबालिकाको हितमा काम गर्न होस् वा विनाशकारी भूकम्पले मुलुकलाई क्षतविक्षत तुल्याएको बेला, हरदम यो संस्थाले आफ्नो उपस्थिति जनाउँदै आएको छ ।  

यसरी ट्रष्ट नै खडा गरेर सामाजिक क्रियाकलापसँग जोडिँदै गरेकी पूर्वयुवराज्ञी हिमानी शाहले राजनीतिक विषयमा कुनै टिकाटिप्पणी गरेकी छैनन ।  

संविधान निर्माणको बेला पनि संविधान सभा सदस्य संविधानको विषयमा सुझाव संकलन गर्न जिल्ला गएका बेला हिमानी शाह पनि कोषमार्फत सामाजिक काममा खटिएकी थिइन । त्यही बेला उनलाई अघि सारेर संविधानबारे आफ्ना धारणा टिप्पणीहरु बाहिर ल्याउन खोजिएको थियो । तर उनले कुनै टिप्पणी गरेकी थिइनन । जेनजी आन्दोलनपछि  पूर्वराजपरिवारका सदस्यहरुले दल खोलेर अघि बढ्ने योजना बनाएको र त्यसमा हिमानी ट्रष्टको सहभागिता बारे प्रष्ट पार्न हिमानीलाई आग्रह गरिरहेको स्रोतको दावी छ ।  

हिमानी ट्रष्टले २०७८ माघ ६ अमेरिकामा पनि आफ्नो गतिविधि सञ्चालन गरेको थियो । यसबाट राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा ट्रष्टले सामाजिक काम गरिरहेको प्रचार भएको थियो ।  भुकम्प वा बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिमा पनि यो ट्रष्टले काम गरिरहेको थियो । 

‘राजपरिवारकै सदस्यहरुको सहभागितामा दल खोलियो भने जनताले विश्वास गर्ने आधार बन्ने देखियो राप्रपा र अन्य राजावादी संगठनहरु गणतन्त्रवादी दलहरुसँग मिलेर मुद्धालाई कमजोर बनाउदै लगे त्यसकारण हामीले यो प्रयास गरेका हौँ’, नागरिकको सम्पर्कमा आएका एक राजवादीले भने । उनका अनुसार हिमानी ट्रष्टको सहयोग र सहभागिता रह्यो भने मात्रै दल खुल्नेछ ।

प्रकाशित: १६ कार्तिक २०८२ १५:५३ आइतबार