राजनीति

प्रधानमन्त्री र सेना प्रमुखबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने

प्रधानमन्त्री बालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरिरहेका छन्।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले सम्माननीय प्रधानमन्त्रीले छलफल सुरु गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।

​प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्रीले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८३ १३:४० बुधबार