लुम्बिनी प्रदेश सभाको मंगलबार बसेको सातौँ बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ।
प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभामा छलफल सुरु भएको हो।
बैठकमा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३९ को उपनियम (१) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न सुरु गरेका हुन्।
छलफलमा प्रदेशसभा सदस्य अर्जुनकुमार केसी, निलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मीनाकुमारी श्रेष्ठ तथा विष्णुप्रसाद पन्थीले भाग लिए। उनीहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखेका थिए।
बैठकमा नीति तथा कार्यक्रममाथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुख तुलाराम घर्तिमगरले जानकारी गराए। प्रदेशसभाले नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी बैठकमा निरन्तरता दिने निर्णय गरेको छ।
थारु समुदायको प्रथा जनित विधेयक पेस
यसैबीच, आजको बैठकमा ‘थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पनि पेस गरिएको छ। सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभासमक्ष प्रस्तुत गरे।
प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित कविला गण संरचना, सङ्गठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्साजस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारू समुदायको जनसङ्ख्या १८ लाख सात हजार १२४ अर्थात् कुल जनसङ्ख्याको ६.२ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसङ्ख्या सात लाख ३२ हजार ६९ अर्थात् १४.३ प्रतिशत रहेको तथ्याङ्क छ। दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लामा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ।
बैठकको प्रारम्भमा समसामयिक विषयमा शून्य समयमा विभिन्न ११ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए।
प्रदेशसभाको अर्को बैठक यही जेठ १३ गते बुधबार दिउँसो १ः०० बजे बस्ने तय गरिएको छ।
प्रकाशित: १२ जेष्ठ २०८३ १७:३१ मंगलबार



