राजनीति

नेपाल मेडिकल काउन्सिलको भूमिका गुणस्तरीय बनाउन छलफल

नेपाल मेडिकल काउन्सिलको भूमिकालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ। 

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा जगदीश अग्रवालको अध्यक्षतामा आज आयोजित छलफल कार्यक्रममा काउन्सिलका पदाधिकारी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। 

छलफलका क्रममा डा अग्रवालले काउन्सिल केवल डाक्टरको परीक्षा लिई अनुमतिपत्र बाँड्ने निकाय मात्र नभई योग्य र दक्ष चिकित्सक बजारमा पठाउने मुलुकको स्वास्थ्य व्यवस्थाको संरक्षक भएको बताए। 

कार्यक्रममा काउन्सिलका प्रतिनिधिहरूले अझ गुणस्तरीय चिकित्सक उत्पादनका लागि ज्ञानमा आधारित परीक्षाका साथै सीपमा आधारित परीक्षा प्रणाली पनि लागू गर्नुपर्नेमा जोड दिए। यसैगरी परीक्षाको विकेन्द्रीकरण, पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन र सूचना प्रविधि सुदृढीकरणको आवश्यकताबारे जानकारी गराए। 

साथै काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा कम प्रतिशत चिकित्सक उत्तीर्ण हुनुमा विद्यार्थी छनौट र शिक्षाको स्तरीयतामा सुधार ल्याउनुपर्ने विषय पनि राखे। प्रधानमन्त्री कार्यालयका अन्य सहभागीहरूले पनि आफ्ना धारणा राखे। 

जवाफमा स्वास्थ्य सल्लाहकार डा। अग्रवालले जनताका गुनासाहरू छिटोछरितो टुंग्याउन र मर्यादित स्वास्थ्य सेवा तथा गुणस्तरीय चिकित्सकको सुनिश्चितता गर्न काउन्सिललाई आग्रह गरे। 

त्यसका लागि काउन्सिलका जायज आवश्यकताहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले प्रविधि र अन्य सहयोग गर्ने आश्वासन दिए।  

प्रकाशित: ८ आश्विन २०८३ ११:२१ बिहीबार