राजनीति

भारी वर्षाको सम्भावनालाई लिएर ७७ वटै जिल्लामा पूर्वतयारीबारे छलफल

भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग पूर्वतयारीका विषयमा छलफल गरेको छ।

गृह सचिव केदारनाथ शर्माको उपस्थितिमा आज भएको छलफलमा सम्भावित वर्षाको अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने तथा आवश्यक अवस्थामा सवारी आवागमन बन्द गर्नेलगायतका विषयमा कुराकानी भएको हो।

छलफलमा गृह मन्त्रालय, नेपाल मौसम विज्ञान विभाग, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय, नेपाल पर्यटन बोर्ड तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका निकायका प्रतिनिधिहरू सहभागी थिए।

काठमाडौं बाहेकका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भने भर्चुअल माध्यमबाट छलफलमा सहभागी भएका थिए।

छलफलका क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम देखिएका क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरे। उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई आग्रह गरेका थिए।

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुन सक्ने सम्भावित अवस्थालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा सूचना प्रवाहलाई प्रभावकारी बनाउने, आवश्यक सुरक्षा सतर्कता अपनाउने र अवस्था हेरी सवारी आवागमनसम्बन्धी निर्णय लिने विषयमा पनि छलफल भएको जनाइएको छ।

सम्बन्धित निकायबीच समन्वय गरी सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षाका लागि पूर्वतयारीलाई थप प्रभावकारी बनाउनेमा छलफल केन्द्रित रहेको थियो।

प्रकाशित: ७ आश्विन २०८३ १८:५७ बुधबार