कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेट गर्दै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका छन्।
भेटका क्रममा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्षको अवसरमा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष चर्चा भएको थियो। दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न आवश्यक कानुनी संरचना तथा दस्तावेज निर्माणमा समेत जोड दिइएको बताइएको छ।
छलफलका क्रममा मन्त्री गौतमले न्यायमा नागरिकको पहुँच सहज बनाउने उद्देश्यले नेपालका संघ, प्रदेश र स्थानीय तहका कानुनहरूलाई एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने गरी डिजिटाइजेसनको काम भइरहेको जानकारी दिनुभयो।
त्यसैगरी नेपालले एकीकृत कानुनी सहायता, पारस्परिक कानुनी सहयोग, संक्रमणकालीन न्याय तथा संसदीय मामिलासँग सम्बन्धित क्षेत्रमा इजरायलसँग सहकार्य गर्न इच्छुक रहेको विषय पनि मन्त्री गौतमले राख्नुभएको थियो। भेटमा दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र संस्थागत बनाउने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।
प्रकाशित: १३ जेष्ठ २०८३ १९:३७ बुधबार