रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीबाट भएको क्षतिबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सम्पन्न भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो। बैठकमा बाढी प्रभावित क्षेत्रको अवस्था तथा उद्धार र राहतका लागि चाल्नुपर्ने कदमबारे छलफल भएको थियो।
प्रधानमन्त्री शाहले विपद्को अवस्थामा आगामी कदमबारे सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। उनले बाढी प्रभावित क्षेत्रमा नागरिकको उद्धार, खोजी तथा राहतका काममा आ-आफ्नो ठाउँबाट सक्रिय रूपमा खटिन सबैलाई आग्रह गरेका छन्।
उनले प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन तथा विपद्को जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रकाशित: १० भाद्र २०८३ १२:१७ बुधबार