राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारी घातक हुनसक्छ: पूर्वमन्त्री ज्ञवाली

पूर्वजलस्रोतमन्त्री तथा दीपक ज्ञवालीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागू गर्नु मुलुकका लागि घातक हुने टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा ‘जेनजी एलाइन्स फर मोनार्की’ द्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस मुलुकलाई निरंकुशतातर्फ धकेल्ने प्रपञ्च भएको दाबी गरे।

ज्ञवालीले उक्त शासन व्यवस्थाले मुलुकमा लेन्डुप दोर्जे र भोलोदिमिर जेलेन्सकी जस्ता पात्रहरू जन्माउने खतरा औँल्याए। उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी, त्योजतिको खतरनाक नेपालमा केही पनि हुँदैन। त्यो लेन्डुप दोर्जे र जेलेन्सकी जन्माउने प्रपञ्च हो।’

वर्तमान राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै ज्ञवालीले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र शेरबहादुर देउवाको कार्यशैलीले नै मुलुक कमजोर बनेको आरोप लगाए।

अप्रत्यक्ष निर्वाचन प्रणालीमा समेत नेतृत्व निरंकुश देखिएको भन्दै उनले प्रत्यक्ष निर्वाचित अधिकार पाउँदा अवस्था अझ भयावह हुन सक्ने चेतावनी दिए ।

‘अप्रत्यक्ष हुँदा त देखिहाल्नु भयो, यहाँ ओली र देउवा कस्ता रहेछन् ! अब प्रत्यक्ष भएको भएदेखि त के गर्थे होलान् ?’ उनले प्रश्न गर्दै भने, ‘यिनीहरूले मुलुकको अस्तित्व नै संकटमा पार्न सक्थे। देश नै सिध्याउने निर्णय लिँदा पनि कसैले बोल्ने ठाउँ हुने थिएन।

ज्ञवालीले नेपालमा स्थिर सरकारका लागि शासकीय स्वरूप परिवर्तनभन्दा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘हामीलाई चाहिएको शक्ति पृथकीकरण र शक्ति सन्तुलनलाई कसरी बलियो बनाउने भन्ने हो । प्रत्यक्ष निर्वाचित व्यवस्थाले स्थिर सरकार होइन, निरंकुशता जन्माउँछ।’

उनले यो एजेन्डाविरुद्ध सशक्त रूपमा बहस गर्न आवश्यक रहेको बताउँदै अन्यथा देशले आफ्नो अस्तित्व गुमाउन सक्ने स्थिति आउन सक्ने चेतावनी समेत दिए ।

प्रकाशित: १३ मंसिर २०८२ १५:३४ शनिबार