उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका लागि डिजिटल क्रान्ति आवश्यकता भएको बताएका छन्।
नेपालको दिगो विकास र समृद्धिका लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यसँग मंगलबार आयोजना गरिएको कार्यशालामा मन्त्री भण्डारीले प्रविधिको प्रभावकारी प्रयोगले सेवा वितरणमा सुधार, रोजगारी सृजना र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढाउने धारणा राखेका हुन्।
मन्त्री भण्डारीले हाल नेपालमा इन्टरनेटको पहुँच विस्तार र सूचना प्रविधि क्षेत्रमा प्रतिभाशाली युवाको संख्या बढ्दो भए पनि पूर्वाधारको पर्याप्त विकास, वित्त र बजारमा पहुँच जस्ता क्षेत्रमा अझै चुनौती रहेको बताए।
‘डिजिटल नेपाल फ्रेमवर्क, राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८१, औद्योगिक व्यवसाय ऐन, २०७६ र कम्पनी ऐन २०६३ मा समावेश प्रावधानलाई सकारात्मक कदमका रूपमा मूल्यांकन गरिएको छ,’ उनले भने, ‘सीप विकास रोडम्यापको अभाव, संस्थागत र नियामक कमजोरी, शिक्षा र नवीन पूर्वाधारमा छरिएको लगानी जस्ता अवरोधलाई तत्काल सम्बोधन गर्नुपर्ने छ।’
एसियाली विकास बैंक (एडिबी) मार्फत ‘टेक एण्ड टेक–इन्बिल्ड स्टार्टअप’ सम्बन्धी अध्ययनका निष्कर्ष र सिफारिसमाथि छलफल गर्दै कार्यशालाका सहभागीले पूर्वाधार, नीति र नियमन, सीप र प्रतिभा विकास, वित्तमा पहुँच, नवप्रवर्तन र डिजिटल समावेशीकरणका क्षेत्रमा ठोस र कार्यान्वयनयोग्य योजना बनाउन सुझाव दिए।
कार्यशालामा सरकारी निकाय, निजी क्षेत्र, विज्ञ, उद्यमी र विकास साझेदारको प्रतिनिधित्व थियो।
प्रकाशित: २८ श्रावण २०८२ ०७:३३ बुधबार