राजनीति

वैकल्पिक शक्ति ध्रुवीकरणको प्रयासमा विवेकशील साझा, परियारको नेतृत्वमा संवाद समिति गठन

विवेकशील साझा पार्टीले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य र एकीकरणको पहल थालेको छ।

पार्टीले समान विचार भएका दल, समूह र अभियानकर्मीहरूसँग संवाद गर्न उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा पाँच सदस्यीय ‘राजनीतिक संवाद समिति’ गठन गरेको हो।

समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन्।

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार गठित समितिले ‘मिसन ८४’ लाई सफल बनाउन वृहत् ध्रुवीकरणको पहल गर्नेछ।

पार्टीका अनुसार, समितिले सहकार्य, कार्यगत एकता, एकीकरणदेखि मोर्चाबन्दीसम्मका विकल्पमा छलफल अघि बढाउनेछ।

पार्टीको कार्यालय व्यवस्थापन विभागका प्रमुख नवराज थापाद्वारा जारी विज्ञप्तिमा समितिलाई राजनीतिक छलफल, भेटवार्ता र मोर्चाबन्दीमार्फत ‘अल्टरनेटिभ्स अलाईन्स’ (वैकल्पिक शक्तिहरूको गठबन्धन) निर्माणमा काम गर्न कार्यादेश दिइएको उल्लेख छ।

प्रकाशित: २ भाद्र २०८२ १८:२६ सोमबार