राजनीति

धनकुटा कांग्रेसले माग्यो विशेष महाधिवेशन

नेपाली कांग्रेस धनकुटाले विशेष महाधिवेशनको माग गरेको छ। जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा बसेको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो।  

जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा युवा पुस्ताको चाहना र भावनाअनुसार कांग्रेसलाई पुस्तान्तरण र रूपान्तरण गर्न आवश्यक भएको भन्दै विशेष महाधिवेशन गरेर पार्टीलाई नवीनतम् ढंगले अगाडि बढाउनुपर्ने धनकुटा कांग्रेसको निष्कर्ष छ।  

पार्टीका पदाधिकारी तथा जिल्ला सदस्यहरू महासमिति सदस्य तथा महाविधेशन प्रतिनिधिको सुझावबमोजिम जिल्ला कार्यसमितिबाट केन्द्रीय समितिमा लिखितै सुझाव पठाइएको धनकुटा कांग्रेसले जनाएको छ।  

यस्तै आन्दोलनको क्रममा घुसपैठ भई कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रिय सदस्य आरजु राणा देउवा र अन्य नेतामाथि भएको आक्रमण तथा दुव्र्यवहारको घटनाको पनि धनकुटा कांग्रेसले निन्दा गरेको छ।  

प्रकाशित: ८ आश्विन २०८२ २०:५८ बुधबार