राजनीति

देउवाको सचिवालय फेसबुकमा सक्रिय

सरकारले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेको छ। त्यसैमध्येको एक हो, फेसबुक। पटक–पटक सूचना जारी गर्दा पनि अटेरी गर्न परेकाले सामाजिक सञ्जाल बन्द गर्नुपरेको सरकारको दाबी छ। सरकारको निसानामा सबैभन्दा बढी परेको पनि फेसबुक नै हो। 

यस्तोमा सरकारकै निर्णयविरुद्ध सत्तारूढ दलकै नेता र तिनका सचिवालयले बन्द गरिएको फेसबुक चलाइरहेका छन्। शुक्रबार बिहानै स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले फेसबुकमा ओलीका तस्बिर हालेपछि आलोचित भएको थियो। 

सत्ता पक्षको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस हो। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीका हरेक कदमलाई अक्सर साथ दिइरहेका छन्। 

उनै देउवाको सचिवालय भने अझै पनि फेसबुकमा देउवाका गतिविधि दिइरहेको छ। शनिवार बिहान देउवा विराटनगर पुगेका तस्बिरहरू उनको सचिवालयले फेसबुकबाटै सार्वजनिक गरेको थियो। 

यस्तै उनी दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराव संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पुगेका थिए। त्यसका तस्बिर पनि उनको सचिवालयले फेसबुकमार्फत नै सार्वजनिक गरेको छ। 

उसो तर विराटनगर पुग्दा देउवाले सरकारले सामाजिक सञ्जाल बन्द गर नभनेको बताएका थिए। बरु दर्ता गरेर चलाऊ भनेको भन्दै सरकारको प्रतिरक्षा गरेका थिए। 

प्रकाशित: २१ भाद्र २०८२ १९:३८ शनिबार