राजनीति

सुदूरपश्चिममा देउवाको विरासत भत्काउँदै गगन पक्ष, ३ जिल्ला सभापतिको पद खोसियो

पाँचपटक प्रधानमन्त्री बनिसकेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको बलियो पकड मानिँदै आएको सुदूरपश्चिम प्रदेशमा पार्टी सभापति गगन थापा पक्षले आफ्नो प्रभाव तीव्र रूपमा विस्तार गरेको छ।

संस्थापन पक्षले १५औं महाधिवेशन प्रक्रिया सुरु गरेसँगै सुदूरपश्चिममा देउवा पक्ष रक्षात्मक बन्दै गएको हो।

महाधिवेशन प्रक्रिया बहिष्कार गर्ने जिल्ला, क्षेत्र, नगर र पालिका तहका नेताहरूविरुद्ध संस्थापन पक्ष कडा रूपमा प्रस्तुत भएको छ।

पार्टीको आन्तरिक निर्वाचनमा सहभागी नभई देउवा पक्षमा खुलेका तीन जिल्ला सभापतिसहित एक उपमहानगर र दुई नगरपालिकाका सभापतिहरूको जिम्मेवारी खोसिएको छ।

पाँच निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा संस्थापन पक्षले आफ्ना निकट नेतालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको छ।

जिल्ला सभापति नारायणदत्त भट्ट र उनले कार्यवाहक तोकेका उपसभापति खेम चौधरी देउवा पक्षमा लागेर महाधिवेशन प्रक्रियामा सहभागी नभएपछि केन्द्रले उपसभापति भिमबहादुर बडुवाललाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिएको हो।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पठाएको पत्रमा जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न बडुवाललाई कार्यवाहक सभापतिको विशेष जिम्मेवारी तोकिएको उल्लेख छ। बडुवाल सुरुदेखि नै सभापति थापानिकट मानिन्छन्।

केन्द्रको यो निर्णयप्रति असन्तुष्टि जनाउँदै उपसभापति चौधरीले बुधबार विज्ञप्ति जारी गरेका छन्। जिल्ला सभापतिबाट कार्यवाहकको जिम्मेवारी पाएर काम गरिरहेको अवस्थामा आफूलाई जानकारी नै नदिई जिम्मेवारी खोसिएको भन्दै उनले आपत्ति जनाएका छन्। गत भदौ २९ गते आमाको निधन भई काजकिरियामा रहेका बेला पनि संगठनको काम प्रभावित हुन नदिएको दाबी उनले गरेका छन्।

कैलालीकै धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकामा समेत संस्थापन पक्षले नगर सभापतिहरूको जिम्मेवारी खोसेर आफूनिकटलाई कार्यवाहक तोकेको छ।

उता डोटी र कञ्चनपुरमा पनि केन्द्रले कार्यवाहक जिल्ला सभापति तोकेर महाधिवेशन प्रक्रिया अघि बढाएको छ। डोटीमा जिल्ला सभापति नरेन्द्रबहादुर सिंह तथा उपसभापतिद्वय नारायण जोशी र बाजीसिंह खड्का देउवा पक्षमा उभिँदै वडा र पालिका अधिवेशनमा सहभागी नभएपछि सचिव नारायण बराललाई कार्यवाहक सभापति बनाइएको छ।

कञ्चनपुरमा देउवा पक्षका जिल्ला सभापति पदम बोगटीको जिम्मेवारी खोस्दै उपसभापति हरिश्चन्द्र रानालाई कार्यवाहकको जिम्मेवारी दिइएको छ।

गृहजिल्ला डडेल्धुरामा समेत देउवालाई धक्का

लगातार सातपटक निर्वाचन जितेका देउवाको गृहजिल्ला डडेल्धुरामा उनका विश्वासपात्र मानिएका नेताहरूसमेत संस्थापन पक्षतिर खुलेका छन्।

देउवानिकट मानिने डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउद सभापति थापाको पक्षमा उभिँदै महाधिवेशन प्रक्रियामा सक्रिय भएका छन्। डडेल्धुरामा वडा अधिवेशन सम्पन्न भई पालिका अधिवेशनहरू धमाधम भइरहेका छन्।

सुदूरपश्चिमका ९ वटै जिल्लाका अधिकांश वडा र पालिकाहरूमा अधिवेशन चलिरहेको छ। विगतमा विशेष महाधिवेशनको विपक्षमा उभिएका ६ जिल्ला (कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम र बझाङ) का सभापतिहरूमध्ये अहिले ३ जना मात्र देउवाको पक्षमा बाँकी छन्।

यद्यपि, प्रदेश तहमा भने सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र महामन्त्री मेघराज खड्का लगायतका नेताहरू अझै पनि देउवा पक्षमै दृढ देखिएका छन्।

तर, प्रदेशका अर्का महामन्त्री नरनारायण शाह भने संस्थापन पक्षमा खुलिसकेका छन्। आफ्नै गृहप्रदेशका अधिकांश जिल्लामा नेता-कार्यकर्ता संस्थापन पक्षतिर आकर्षित भएपछि देउवाको दशकौँ लामो राजनीतिक विरासत कमजोर बन्दै गएको छ।

प्रकाशित: ८ आश्विन २०८३ २१:४० बिहीबार