राजनीति

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो, अब नयाँ नेतृत्व आउँछ: गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।

संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले देउवा नेतृत्वको समिति भंग भइसकेको र अब नयाँ कार्यसमिति चयन हुने बताएका हुन्।

विशेष महाधिवेशन नै पार्टीको सर्वोच्च निकाय भएको संकेत गर्दै थापाले भने, ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ। श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ। अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं।’

आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै उनले थपे, ‘सिंगो देशले यो सुनिरहेको छ। नागरिकले सुनिरहेका छन्। देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन्। यो हो नेपाली कांग्रेस।’

प्रकाशित: ३० पुस २०८२ १६:५० बुधबार