राजनीति

कांग्रेसको १५औँ महाधिवेशन रोक्न अदालत जाँदै देउवा समूह

नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ।

पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूह अदालत जान लागेका हुन्।

सर्वोच्चमा मुद्दा विचाराधीन भएको अवस्थामा महाधिवेशन प्रक्रिया अगाडि बढाउनु गलत भएको डा. प्रकाशशरण महतले बताए।

यो विषयलाई कानुन र राजनीतिक दुवै कोणबाट सामना गर्ने जनाउँदै उनले संस्थापन पक्षले निषेधको राजनीति गर्न खोजेको आरोप लगाए।

यसअघि इतर समूहका नेता डा. शशांक कोइरालाले महाधिवेशन प्रक्रिया अघि नबढाउन निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाएका थिए।

यसअघि साउन २१ गते सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो।

तर, पार्टीले मंगलबार अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेपछि इतर समूहले महाधिवेशन प्रक्रिया कानुनी कदम चाल्ने तयारी गरेको हो।

प्रकाशित: ३ भाद्र २०८३ १२:५८ बुधबार