राजनीति

देउवा समूहको समानान्तर महाधिवेशन पनि खुलामञ्चमै

फाइल तस्बिर

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ।

समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको हो। महाधिवेशनका लागि काठमाडौं महानगरपालिकासँग खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा प्रयोग गर्न अनुमति लिइएको जनाइएको छ।

महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार महाधिवेशनका लागि आवश्यक स्थान उपलब्ध गराउन महानगरपालिकासँग पत्राचार गरिएको थियो।

महाधिवेशनको उद्घाटन तथा बन्दसत्र खुलामञ्चमा सञ्चालन गरिनेछ भने निर्वाचनका लागि राष्ट्रियसभा गृह र प्रतिनिधिहरूको खानपान व्यवस्थापनका लागि भृकुटीमण्डपको बगैँचा प्रयोग गरिने नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

उक्त महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। त्यसका लागि अहिले समूहले प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशनका गतिविधि अघि बढाइरहेको छ।

यसअघि नेपाली कांग्रेसको संस्थापन पक्षले पनि पार्टीको १५औँ महाधिवेशन खुलामञ्चमै आयोजना गरेको थियो। त्यतिबेला निर्वाचन राष्ट्रियसभा गृहमा र खानपानको व्यवस्था भृकुटीमण्डपमा गरिएको थियो।

प्रकाशित: १३ कार्तिक २०८३ १५:५९ शुक्रबार