नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति टुंगो लगाउने विषयमा पार्टीभित्र छलफल तीव्र बनेको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।
काठमाडौँको चुनदेवीमा जारी देउवा समूहको बैठकमा महाधिवेशनको मिति र त्यसअघि सम्पन्न गर्नुपर्ने पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचनको कार्यतालिकाबारे प्रस्ताव प्रस्तुत गरिएको हो।
प्रस्तावअनुसार असोज १५ गते वडा अधिवेशन गर्ने र त्यसपछि असोज २० गते पालिका तहको अधिवेशन गर्ने कार्यतालिका अघि सारिएको छ।
त्यसैगरी असोज २३ गते प्रदेश निर्वाचन तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।
यी सबै तहका अधिवेशन तथा निर्वाचन सम्पन्न गरेपछि मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने देउवा समूहको प्रस्ताव छ।
चुनदेवी बैठकमा पार्टीको आगामी महाधिवेशन, संगठनात्मक गतिविधि तथा अधिवेशनको कार्यतालिकालगायत विषयमा छलफल भइरहेको छ। महाधिवेशनको मिति र निर्वाचन तालिकालाई अन्तिम रूप दिन कांग्रेसभित्र विभिन्न पक्षबीच छलफल जारी रहेको छ।
देउवा समूहले अघि सारेको यो प्रस्ताव कार्यान्वयन भएमा मंसिरमै कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने बाटो खुल्नेछ। यद्यपि प्रस्तावित कार्यतालिका र महाधिवेशनको अन्तिम मितिबारे पार्टीको औपचारिक निर्णय हुन बाँकी छ।
प्रकाशित: १७ भाद्र २०८३ १६:३६ बुधबार