पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनका पूर्वप्रधानमन्त्री झू रोङजीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवाले सामाजिक सञ्जाल एक्समार्फत शोक व्यक्त गर्दै चीनको आर्थिक रूपान्तरणमा झूको नेतृत्व र योगदानलाई सम्मानका साथ सम्झिने बताएका छन्।
उनले लेखेका छन्, 'पूर्वप्रधानमन्त्री झू रोङजीको निधनको खबरले गहिरो दुःख लाग्यो। चीनको आर्थिक रूपान्तरणमा उहाँको दूरदर्शी नेतृत्व र योगदान सधैं उच्च सम्मानका साथ स्मरणीय रहनेछ। सन् २००१ मा मेरो चीन भ्रमणका क्रममा उहाँसँग भएको भेटलाई म सधैं सम्झिरहनेछु। उहाँको परिवार र जनवादी गणतन्त्र चीनका जनताप्रति हार्दिक समवेदना।'
पूर्वप्रधानमन्त्री झूको ९७ वर्षको उमेरमा बुधबार बिहान निधन भएको थियो। लामो समयदेखि बिरामी रहेका उनको बेइजिङमा निधन भएको हो। सन् १९९८ देखि २००३ सम्म चीनको प्रधानमन्त्री रहेका उनलाई चीनको आर्थिक उछालको मुख्य सूत्रधार मानिन्छ।
झू आफ्नो कडा स्वभाव र सुधारवादी कदमका लागि परिचित थिए। सन् १९९० को दशकमा राज्य नियन्त्रित उद्योगहरूमा उनले ल्याएको सुधारले चीनलाई विश्व अर्थतन्त्रमा शक्तिशाली रूपमा स्थापित गर्न मद्दत गर्यो। चीनलाई विश्व व्यापार संगठन (डब्लूटीओ) मा प्रवेश गराउन उनले खेलेको भूमिका पनि ऐतिहासिक मानिन्छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने झूले एक पटक भनेका थिए, 'मैले यहाँ १०० वटा कफिन तयार पारेको छु-९९ भ्रष्ट अधिकारीहरूका लागि र एउटा मेरो लागि।' आफ्नो कडा शैलीका कारण उनलाई 'बोस' वा 'म्याडम्यान झू' समेत भनिन्थ्यो।
हुनान प्रान्तमा सन् १९२८ अक्टोबर २३ मा जन्मेका झूले आफ्नो राजनीतिक जीवनमा निकै उतारचढाव देख्नुपरेको थियो। सन् १९५० को दशकमा सुधारको पक्षमा बोल्दा उनलाई ग्रामीण क्षेत्रमा निर्वासनमा पठाइएको थियो। पछि सन् १९८० को दशकमा पुनरागमन गरेका उनी सांघाईको मेयर हुँदै चीनको उच्च नेतृत्वमा पुगेका थिए।
प्रधानमन्त्री पदबाट बाहिरिएपछि उनी सार्वजनिक जीवनबाट टाढै रहेका थिए।
प्रकाशित: २९ श्रावण २०८३ ०९:२६ शुक्रबार