राजनीति

कांग्रेस नेतृ कर्णको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसकी नेतृ राधादेवी कर्णको निधन भएको छ। कांग्रेस पूर्वमहामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहनुभएकी कर्णको यही असोज २४ गते निधन भएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गरी ८१ वर्षीया कर्णको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्।

विसं २०४६ को जनआन्दोलनमा पिता महेन्द्रनारायण निधि जलेश्वरको जेलमा र कान्छो भाइ एवं पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि भूमिगत रहँदादेखि नै उहाँ आन्दोलनमा सहभागी भएकी थिइन्। उनको निधनबाट नेपाली कांग्रेसले एक निडर, अनुभवी र अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ।

कर्णको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। सभापति देउवाले स्व कर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्। 

प्रकाशित: २५ आश्विन २०८२ १२:०४ शनिबार