नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी एकता जोगाउन अन्तिम समयसम्म अधिकतम लचकता अपनाएको दाबी गरेका छन्।
बुधबार नागरिक न्युजसँगको संवादमा नेता लेखकले सभापति देउवा आफ्नो अधिकार कटौती गर्न समेत तयार हुँदा हुँदै पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको हठका कारण सहमतिको प्रयास असफल भएको बताएका हुन्।
लेखकका अनुसार आगामी निर्वाचनमा टिकट वितरणको अधिकार छोड्न सभापति देउवा तयार भइसकेका थिए।
‘सभापतिजीले टिकट वितरणमा आफूले हस्ताक्षर नगर्ने, संसदीय समिति वा कार्यवाहक सभापतिलाई जिम्मा दिने लगायतका विषयमा सहमति जनाउनु भएको थियो,’ सहमतिको प्रयासबारे खुलाउँदै लेखकले भने, ‘उहाँले पार्टी नफुटोस् भनेर आफ्नो विधानसम्मत अधिकार छोड्न समेत लचकता देखाउनुभयो।’
संस्थापन पक्ष नियमित महाधिवेशनको पक्षमा रहे पनि अर्को पक्षले विशेष महाधिवेशनको रटान नछोडेपछि कुरा नमिलेको लेखकले बताए।
‘हामीले नियमित प्रक्रियाबाटै नेतृत्व चयन गरौं भन्ने प्रस्ताव राख्यौं, तर उहाँहरूले विधि मिचेर विशेष महाधिवेशनमै जोड दिनुभयो,’ लेखकले भने, ‘समाधान खोज्न मैले तीन महिनादेखि पुलको काम गरेँ, तर समयको चाप र बुझाइमा आएको अन्तरले गर्दा दुर्घटना रोक्न सकिएन।’
नेता लेखकले महामन्त्रीहरूले पार्टीको आधिकारिकता र विधानलाई चुनौती दिँदै समानान्तर गतिविधि अघि बढाएपछि संस्थापन पक्ष कारबाहीको निर्णयमा पुग्न बाध्य भएको जिकिर गरे।
प्रकाशित: ३० पुस २०८२ २०:१३ बुधबार