राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवल शमशेर राणाले प्रतिनिधि सभाको उपसभामुख पदमा पार्टीले दिएको उम्मेदवारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले पार्टीको संस्थागत निर्णयविना नै उम्मेदवारी दिइएको भन्दै असन्तुष्टि जनाएका हुन्।
नेता राणाले राप्रपा गणतन्त्र विरोधी आन्दोलनमा रहेको स्मरण गराउँदै संवैधानिक पदहरूमा सहभागी हुनु दलको सिद्धान्तविपरीत हुने तर्क गरे।
‘हामी गणतन्त्र विरोधी आन्दोलनमा छौँ। गणतन्त्रमा संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा हामी सहभागी हुनुहुँदैन,’ उनले भनेका छन्।
पार्टीभित्रको प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिएर गरिएका निर्णयमा आफ्नो हिजो पनि सहमति नरहेको र भोलि पनि नहुने उनले सुनाए।
संस्थागत छलफलविना नै उम्मेदवारी तय गरिएको भन्दै उनले यस विषयमा पार्टीका कार्यकर्ता र राष्ट्रवादी साथीहरूबाट आफूलाई निरन्तर गुनासो आइरहेको समेत उल्लेख गरे।
यसअघि राप्रपाले सरस्वती तामाङलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। राप्रपा सांसद ज्ञानबहादुर शाही प्रस्तावक रहेको उक्त मनोनयनको पक्षमा राप्रपाका आफ्नै सांसदहरूको मात्रै ५ मत परेको थियो।
अन्य दलको समर्थन नपाउँदा तामाङ फराकिलो मतान्तरले पराजित भएकी थिइन्।
सांसद शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आश्वासनपछि उम्मेदवारी दिएको दाबी गरे पनि अन्तिम समयमा रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेपछि राप्रपा एक्लिएको थियो।
प्रकाशित: २८ चैत्र २०८२ १६:३२ शनिबार