सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई समेत जारी गरिएको परिपत्रप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जनता समाजवादी पार्टी, नेपालले सरकारद्वारा निजी क्षेत्रका सञ्चार माध्यमहरूमा सरकारी विज्ञापन रोक्ने निर्णयप्रति गम्भीर आपत्ति प्रकट गरेको छ। लोकतन्त्रको महत्वपूर्ण स्तम्भको रूपमा रहेका निजी सञ्चार माध्यमहरूलाई कमजोर बनाउने उद्देश्यले गरिएको यस्तो निर्णय प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भएको उसको ठहर छ। यसरी लोकतन्त्रको पहरेदारको रूपमा रहेका सञ्चार माध्यमहरूलाई आर्थिक रूपमा दबाबमा पार्ने प्रयासले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रत्यक्ष असर पार्ने बताउँदै जारी विज्ञप्तिमा भनिएको छ, 'सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु भनेको स्वतन्त्र पत्रकारितालाई नियन्त्रणमा राख्ने प्रयास हो, जुन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छ।'
जसपा नेपालले सरकारलाई उक्त निर्णय तुरुन्त फिर्ता लिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सञ्चारमैत्री नीति अवलम्बन गर्न जोडदार माग गरेको छ। आर्थिक संकट व्यहोरिरहेका निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयप्रति पार्टी गम्भीर असहमति र आपत्ति प्रकट गरेको उसको भनाइ छ।
यो निर्णयबाट निजी सञ्चार माध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति बन्ने र अर्कोतिर प्रेस सेन्सरशिपको अवस्था सिर्जना भई आवाजविहीनको आवाज बनिरहेको स्वतन्त्र पत्रकारितामा प्रत्यक्ष असर पर्ने जसपा नेपालको ठहर छ।
संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको मर्मविपरीतको निर्णय तत्काल फिर्ता लिन जसपा नेपाल सरकारसँग जोडदार माग गरेको जनाएको छ।
प्रकाशित: १० वैशाख २०८३ ११:५० बिहीबार