राजनीति

‘ओझेलमा परेका प्रजातान्त्रिक योद्धा’

राजधानी काठमाडौंसँग जोडिए पनि आर्थिक, सामाजिक र राजनीतिक दृष्टिकोणले पनि पछि छ धादिङ। त्यही बत्तीमुनिको उज्यालो परिचय बनाएको धादिङ नौबिसे (हालको धुनिवेसी नगरपालिका– ६) मा जन्मिएका भरत उप्रेती प्रजातान्त्रिक आन्दोलका एक उज्याला योद्धा हुन्। १९८५ पुस २९ मा जन्मिएका उनले जीवनभर नेपाली कांग्रेस र प्रजातान्त्रिक योद्धाका रूपमा निरन्तर सक्रिय भए। आफैं खाऔं, आफैं मोटाऊँ भन्नेतिर होइन राजनीतिक दलका नेता तथा कार्यकर्ता सबै जुटेर देश बनाउन लाग्नुपर्ने उनको भाइ र बुझाइ थियो।

काठमाडौंबाट नजिकै रहेकाले उप्रेती ११ वर्षको हुँदा नै अध्ययनका लागि काठमाडौं आएका थिए। २००६ सालमा एसएलसी परीक्षा तयारीका क्रममा रहेका उनले जैसीदेवलस्थित आफ्नै घरमा प्रजातन्त्रका बारेमा पहिलोपटक सुनेका थिए। ट्युसन पढाउन घरमा आएका गुरु नरहरि दवाडीले प्रजातन्त्रका बारेमा बताएपछि चासो राख्न थाले। र, राणा शासनविरोधी आन्दोलनमा लागेका थिए।

१०४ वर्ष लामो राणाशासनको अन्त्य देखिएको आन्दोलनमा सक्रिय उप्रेतीले जीवनभर राजनीतिलाई त्याग र सर्मपणको भावमा अपनाए। मैले के पाउँछु भन्दा पनि देश र जनतालाई के योगदान गर्न सकिन्छ निरन्तर सक्रिय उनले प्रजातन्त्र प्राप्तिका लागि मात्र होइन, पुनः प्राप्तिका लागि हुने आन्दोलनमा सक्रिय भए। र, पार्टीका नेताहरूलाई सेल्टर दिने र धादिङको बाटो हुँदै काठमाडौं आउने र जानेका लागि आश्रय दिने काम गरेका थिए।

राणा शासनविरुद्ध तथा प्रजातन्त्र स्थापना आन्दोलनमा २००७ सालमा पर्चा र अन्य सामग्री आदान–प्रदान गर्ने क्रममा उप्रेती त्यतिबेला नै भूमिगत भएका थिए। नेपाली कांग्रेसको तत्कालीन केन्द्रीय कार्यालय जैसीदेवलमा रहेको कार्यालयमा नेता कृष्णप्रसाद भट्टराईबाट पार्टी सदस्यता लिएका थिए।

२००७ सालमा प्रजातन्त्र स्थापना र राणा शासनको अन्त्य भयो। त्यसपछि पार्टी संगठन निर्माणमा सक्रिय उप्रेती २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा कांग्रेसकाबाट तत्कालीन निर्वाचन क्षेत्र नं १०६ बाट उम्मेदवार बने, तर गोर्खा परिषद्का भारतशमशेर राणा निर्वाचित भए। निर्वाचनपछि बिपी कोइराला नेतृत्वमा गठन भएको सरकारलाई राजा महेन्द्रले २०१७ पुस १ गते अपदस्थ गरे। त्यसपछि उनले २०२६ सम्म भारतको नरकटियागञ्ज, कलकत्ता, बनारसलगायतका ठाउँमा निर्वासित जीवन बताए।

निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य तथा प्रजातन्त्र पुनस्र्थापनाको संघर्ष तथा आन्दोलनका क्रममा पटकपटक जेल जीवन बिताएका उप्रेती २०१९ देखि २०५३ सम्म पटकपटक गरी धादिङ कांग्रेसको सभापतिको जिम्मेवारी निर्वाह गरे। २०४८ को आमनिर्वाचनमा धादिङ– ३ बाट कांग्रेस उम्मेदवार बनेका थिए। केही समयअघि उनीसँग काठमाडौंमा भएको भेटमा पनि प्रजातन्त्र, मुलुक र पार्टीप्रति चासो र चिन्ता थियो।

कांग्रेसका संस्थापक बिपी कोइराला, गणेशमान सिंहको सिद्धान्त र जीवन संघर्र्षलाई पार्टीले छाड्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। नागरिक सुख भए मात्र प्रजातन्त्र दिगो हुने धारणा राख्दै उनले भनेका थिए, ‘अहिले सामुहिकताभन्दा व्यक्तिकेन्द्रित राजनीति हाबी भयो। त्यसले देश र जनताका लागि मात्र होइन लोकतन्त्रको पनि हित गर्दैन।’

बिपी कोइराला उपचारका लागि काराबासबाट छुटेपछि पार्टीका नेता तथा कार्यकर्ताले पनि केही राहत महसुस गरेको र आफू पनि निर्वासनबाट स्वदेश फर्किएका उनले निकटहरूको भेटमा सुनाउने गरेका थिए। त्यसपछि बिपी र गणेशमान सिंहसहितका नेताहरूको नियमित भेटघाट र आउजाउ थियो। काठमाडौंमा भएको बमकाण्डपछि कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा र उनी सँगै जेल बसेका थिए।

बिपीको निधनपछि तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले देउवामा कांग्रेस र मुलुक हाँक्ने क्षमता रहेको भन्दै तत्कालीन बेलायती राजदूतलाई भनेर अध्ययनका लागि त्यहाँ पठाएको पनि एक भेटमा सुनाएका थिए। प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण तत्कालीन शासकले दुईपटक सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। उनै प्रजातान्त्रिक आन्दोलनका योद्धा उप्रेतीको असार २८ गते ९७ वर्षको उमेरमा काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा निधन भएको हो।

उप्रेतीको निधन भएको १३औं दिनको पुण्यतिथिमा धादिङ कांग्रेसले नौबिसेमा आयोजना गरेको शोकसभामा बोल्दै कांग्रेस सभापति देउवाले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उप्रेतीको महत्वपूर्ण योगदान रहेको स्मरण गरे। सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण, सामाजिक एवं राजनीतिक जागरण र मानवअधिकार रक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाउँदै देउवाले भने, ‘उप्रेतीलाई सरल, सादगी, शालीन नेताका रूपमा पार्टीले सधैं स्मरण गरिरहने छ।’

कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाले उप्रेतीसँग बिपी कोइरालालाई भेट्न बनारस आएकै बेला आफूसँग भेट भएको स्मरण गरे। उप्रेती जस्ता इमानदार र सादगी नेता कांग्रेसमा रहेको जनाउँदै उनले थपे, ‘तर, निकै थोरै छन्।’

शशांकले टिचिङ अस्पतालमा आँखा उपचारका लागि आउँदा पनि आफूसँग भेट भएको स्मरण गर्दै भने, ‘आँखाको उपचार गरेर मात्र भएन अब देशको उपचारका लागि पार्टी राजनीतिमा आउन प्रेरित गर्नुभएको थियो।’ प्रेरणादायी जीवनशैली अनुकरणीय रहेको जनाउँदै उनले भने, ‘कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञ गुमाएको छ।’

कांग्रेस नेता शेखर कोइरालाले उप्रेतीलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको एक अथक् योद्धाका रूपमा स्मरण गरेका छन्। पूर्वनिर्धारित कार्यक्रमका कारण शोकसभामा सहभागी हुन नसकेको जनाउँदै शोक सन्देश पठाउँदै शेखरले उप्रेती कुशल संगठनकर्ता भएको उल्लेख गरेका छन्।

शोकसभामा कांग्रेस उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, कृषिमन्त्री रामनाथ अधिकारी, केन्द्रीय सदस्य उर्मिला थपलियासहित दर्जन बढी केन्द्रीय नेताहरू कार्यक्रममा सहभागी भएका थिए।

प्रकाशित: ९ श्रावण २०८२ ०७:३५ शुक्रबार

# Nagariknews # Rana Shasan