राजनीति

सरकारी निकायमा युवालाई ‘पेड इन्टनसिप’को व्यवस्था गर्न माग

रास्वपा सांसद गणेश पराजुलीले नेपालका प्रतिभाशाली युवालाई सरकारी निकायमा ‘पेड इन्टनसिप’को व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

अध्ययन पूरा गरेर रोजगारीको खोजीमा निस्कने हजारौँ विद्यार्थीले अनुभवको अभावका कारण अवसर गुमाइरहेको उल्लेख गर्दै उनले यो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने बताए।

अहिलेको युवा पुस्ता आधुनिक क्षेत्रमा दक्ष बन्दै गएपनि आफ्नो क्षमता प्रयोग गर्ने अवसर  नपाएर विदेशिन बाध्य भएको बताउँदै उनले सरकारले उनीहरुको लागि सिंहदरबारको ढोका खोल्नुपर्ने बताए।

‘हरेक वर्ष हजारौँ विद्यार्थी अध्ययन सकाएर जागिर खोज्न निस्कँदा, सामना गर्नुपर्ने पहिलो प्रश्न ‘तपाईंको वोर्क एक्सपिरियन्स कति छ?’ अनुभव बिना काम पाइँदैन, काम नभई अनुभव हुँदैन। बेरोजगारको पीडादायी चक्र यहीँबाट सुरु हुन्छ’ उनले भने,‘ उनीहरु अवसरको खोजीमा विदेशिन बाध्य छ। त्यसकारण आजैबाट प्रतिभाशाली युवालाई सिंहदरबारको ढोका किन नखोल्ने?’

श्रम ऐनले नै प्रशिक्षार्थीलाई ‘काम सिक्दै अनुभव हासिल गर्ने’ कानुनी बाटो खोलिसकेको बताउँदै उनले सरकारका मन्त्रालय, विभाग, लगायत सबै निकायहरूमा युवाका लागि नीतिमार्फत टीओआरको व्यवस्था लागू गर्न माग गरे।

उनले भने,‘प्रत्येक वर्ष निश्चित संख्यामा विद्यार्थीलाई खुला प्रतिस्पर्धाबाट छनोट गरी निश्चित समयको लागि ‘पेड इन्टनसिप’ दिन सक्ने कार्यविधि बनाई तत्काल लागू गर्न ढिला गरिनु हुँदैन।’

यस्तो कार्यक्रमले युवालाई कामको अनुभव दिने, सरकारलाई ज्ञान र प्रविधि भित्र्याउने र रोजगारी बजारका लागि प्रतिस्पर्धी जनशक्ति तयार गर्ने उनको भनाई छ।

प्रकाशित: ८ भाद्र २०८३ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App