कोशी प्रदेशसभाका सांसद गोपालबहादुर विश्वकर्माले सप्तकोशीको पानीले कोशी प्रदेशका तराईका तीन वटा जिल्लामा सिँचाइको व्यवस्था मिलाउन माग गरेका छन्।
आइतबारको प्रदेशसभा बैठकको शून्य समयमा सांसद विश्वकर्माले सिँचाइ अभावका कारण धान रोप्न नपाएर किसान मर्कामा परेको भन्दै सप्तकोशीको पानी झापाको मेची नदीसम्म पु¥याएर सिँचाइको दीर्घकालीन व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
विश्वकर्माले आफूले विगत देखि नै पटक– पटक कुरा उठाउँदै आएको भए पनि सरकारले बेवास्ता गरेका कारण अन्नको भण्डारका रुपमा रहेका कोशीका तीन वटा जिल्लाहरू झापा, मोरङ र सुनसरीमा सिँचाइ अभावका कारण यो वर्ष समयमै धान रोपाई हुन नसकेको बताए ।
सांसद विश्वकर्माले भने ‘तत्कालका लागि किसानलाई ट्युबवेल र डिपवोरिङबाट सिँचाइको व्यवस्था मिलाउन र दीर्घकालका लागि सप्तकोशीको पानीले सिँचाइ गर्ने व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारले काम सुरू गर्नुपर्छ ।’
विश्वकर्माले मुख्य धान उत्पादन हुने कोशी प्रदेशका जिल्लाहरूमै धान रोप्न समस्या भएको र रोपेको धानसमेत सुक्न थालेकाले सरकार गम्भीर बन्नु पर्ने धारणा राखे ।
प्रकाशित: ११ श्रावण २०८२ १५:०० आइतबार



