नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले राज्यविहीनताको जटिल अवस्थामा नेतृत्व सम्हालेर निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै उनले वर्तमान समयमा सडक र सामाजिक सञ्जालमा आफूहरूले भोग्नुपरेको दुर्व्यवहार र आरोपबारे प्रश्न उठाएकी हुन्।
उनका अनुसार संकटको अवस्थामा संविधान जोगाउन र देशलाई निकास दिन नेतृत्वमाथि भरोसा गरिएको भए पनि त्यसको बदलामा अहिले दुर्व्यवहार भोग्नुपरेको छ। उनले सामाजिक सञ्जालका इनबक्स र कमेन्टहरूमा आफूमाथि निरन्तर प्रश्न र आरोपहरू लागिरहेको भन्दै अब प्रतिवेदन सार्वजनिक गरेरै सरकारले जवाफ दिनुपर्ने बताएकी छन्।
उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेकी छन्, ‘मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु। मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु। म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु।’ उनले शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो, गोली चलाउने आदेश कसले दियो र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो भन्ने कुराको पनि जवाफ मागेकी छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले जाँचबुझ आयोग बनाएको थियो। आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाएको छ।
सरकारले नयाँ सरकार आएपछि मात्रै उक्त प्रतिवेदनको प्रक्रिया अघि बढ्ने बताउँदै आएको छ। तर बमसहितका जेनजी अभियन्ताले तत्काल प्रतिवेदन जारी गर्न माग गरिरहेका छन्। केही दिन पहिला उनीमाथि सार्वजनिक रूपमा प्रश्न समेत गरिएको थियो।
हेर्नुस् उनको फेसबुक स्टाटस
सम्माननीय प्रधानमन्त्रीज्यू,
म आज पनि त्यो दिन सम्झन्छु, राज्यविहीनताको जटिल अवस्थाबाट देश गुज्रिरहेको बेला तपाईंले नेतृत्व सम्हाल्नुभयो, र आजसम्म आइपुग्दा व्यवस्था कायम राख्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउनुभयो। त्यसका लागि तपाईं निश्चय नै धन्यवादका पात्र हुनुहुन्छ।
तर प्रधानमन्त्रीज्यू, के तपाईंले सडकमा के भइरहेको छ भनेर नियाल्नु भएको छ? हामीलाई कस्ता प्रश्नहरू सोधिँदैछन्, कस्तो व्यवहार भोग्नुपरेको छ, देखिरहनुभएको छ? संकटको अवस्थामा संविधान जोगाउन र देशलाई निकास दिन तपाईंको नेतृत्व आवश्यक छ भन्ने विश्वासका साथ हामीले तपाईंहरूमाथि भरोसा गरेका थियौँ, र त्यो धेरै हदसम्म सही निर्णय पनि हो। तर त्यही विश्वासको बदलामा आज हामीले दुर्व्यवहार भोग्नुपरेको छ। जीवनभरि गलत आरोपहरूको बोझ बोक्नुपर्ने अवस्था सिर्जना हुँदैछ। किनकी पिडीतहरूको आवाज चर्को हुन्छ प्रधानमन्त्री ज्यू। त्यसलाई बेलैमा सम्बोधन गरिनुपर्छ।
यी प्रश्नहरू र यस्तो व्यवहार आज सडकमा प्रत्यक्ष रूपमा देखिएको पहिलो दिन हुन सक्छ, तर सामाजिक सञ्जालमा, विशेषतः फेसबुकका इनबक्स र कमेन्टहरूमा, म यसलाई सुरुदेखि नै भोग्दै आइरहेकी छु। यो त मेरो दैनिकी जस्तै भइसकेको छ। ममाथि लगाइएका आरोपहरू, सोधिएका प्रश्नहरू र गरिएको व्यवहारको जवाफ मैले बारम्बार दिइसकेकी छु, तर अब त्यतिले मात्रै पुगेन, प्रधानमन्त्रीज्यू। अब हामीमाथि लागेका यस्ता आरोप र प्रश्नहरूको जवाफ तपाईंले प्रतिवेदन सार्वजनिक गरेर दिनैपर्छ।
प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु। मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु। म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु। र म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो? गोली चलाउने आदेश कसले दियो? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो? त्यसैले, कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्।त्यो तपाईको जिम्मेवारी हो।
न्याय पर्खिरहेका आँखाहरू तपाईंतिरै फर्किएका छन्। इतिहासले तपाईंलाई कसरी सम्झिने, त्यो निर्णय आज तपाईंकै हातमा छ। 🙏
प्रकाशित: ७ चैत्र २०८२ ११:०८ शनिबार