प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका व्यक्तिहरूलाई तत्काल थुनामुक्त गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै न्यौपानेले जेनजी आन्दोलनको उद्देश्य र उपलब्धि संस्थागत हुन नसकेको भन्दै नागरिकमा निराशा बढेको बताए। यही निराशाका कारण एक महिलाले आत्मदाहको प्रयास गरेको घटना दुःखद् भएको उनको भनाइ छ।
‘हिजो एकजनाले देशमा भएका विध्वंस, नागरिकले सहज रूपमा जीवनयापन गर्न नसकेको अवस्था तथा जेनजी विद्रोह संस्थागत हुन नसकेको विषयलाई देखाएर आत्मदाहको प्रयास गर्नुभयो। म यसमा अत्यन्तै दुःखी छु र उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ न्यौपानेले भने।
उनले जेनजी आन्दोलनमा सहभागी केही व्यक्ति अझै थुनामा रहेको, जेलमा रहेको र अदालतमा मुद्दा खेपिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
जेनजी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन्, जेलमा छन्, तारिख लिइरहेका छन् र अदालतको कठघरामा उभिनुपरेको छ,’ उनले भने।
न्यौपानेले जेनजी आन्दोलनकै बलमा अहिले केही व्यक्ति संसद् र सरकारमा पुगेको भन्दै गर्दै आन्दोलनमा सहभागी युवाहरूले भने न्यायका लागि अदालत धाउनुपर्ने अवस्था रहेको भन्दै असन्तुष्टि जनाए।
‘त्यही जेनजी विद्रोहको बलमा आज कोही हामी संसद्मा छौँ होला, कोही सरकारमा छौँ। तर यो देशमा न्याय दुई खालको किन भन्ने नागरिकको आवाज आज गुन्जिरहेको छ,’ उनले भने।
उनले जेनजी विद्रोहलाई औपचारिक रूपमा जनआन्दोलन घोषणा गर्न सरकारसँग माग गरे। साथै आन्दोलनलाई संस्थागत गर्न संसद्मा संकल्प प्रस्ताव प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।
‘सरकारलाई म अनुरोध गर्छु, जेनजी विद्रोहलाई जनआन्दोलनका रूपमा घोषणा गरोस्। जेनजी विद्रोहलाई संकल्प प्रस्तावका रूपमा संसद्मा प्रस्तुत गरौँ र ती व्यक्तिहरूलाई थुनामुक्त हुने अवस्था सिर्जना गरौँ,’ न्यौपानेले भने।
उनले जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न नसके थप निराशा र असन्तुष्टि बढ्न सक्ने बताए। ‘हिजो जुन किसिमको अवस्था हामीले देख्नुपर्यो, कतिपय आमाहरूले जेनजी विद्रोह संस्थागत हुन सकेन भनेर मृत्युवरण गर्नुपर्ने अवस्था आयो। त्यो दिन पुनः नआओस्,’ उनले भने।
प्रकाशित: २४ भाद्र २०८३ १४:३५ बुधबार