प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेको भए पनि भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्रालयले दुवै देशलाई अनुकूल हुने समयमा भ्रमण हुने गरी आवश्यक तयारी अघि बढाइएको जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणका लागि कूटनीतिक तहमा तयारी भइरहेको जानकारी दिए। उनका अनुसार भ्रमणको मिति दुवै पक्षबीचको आपसी समझदारी र अनुकूलताका आधारमा तय हुनेछ।
‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी आवश्यक तयारी भइरहेको छ। भ्रमणको मिति भने अझै तय भइसकेको छैन। उपयुक्त समयमा मिति तय गर्छौँ,’ प्रवक्ता पौडेलले भने।
यसअघि भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण चाँडै हुने संकेत गरेका थिए। भारतमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा सहभागी वाग्लेले प्रधानमन्त्रीको भारत भ्रमण सन् २०२६ को अन्त्यसम्म हुन सक्ने बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर चासो बढेको थियो।
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले भ्रमणको तयारी अघि बढिरहेको संकेत गरे पनि परराष्ट्र मन्त्रालयले भने औपचारिक मिति सार्वजनिक गरिसकेको छैन। यसले भ्रमणको समयतालिका अझै दुई देशबीचको कूटनीतिक समन्वयमै निर्भर रहेको देखाउँछ।
प्रवक्ता पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण विगतमा हुँदै आएका उच्चस्तरीय द्विपक्षीय भ्रमणकै नियमित निरन्तरता हुने स्पष्ट पारे। भ्रमणका क्रममा उठाइने विषय र एजेन्डा पनि दुवै देशबीचको समन्वय तथा सहमतिमा तय गरिने मन्त्रालयको भनाइ छ।
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका विविध आयाम, आपसी हित र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ १५:४७ शुक्रबार