राजनीति

दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको छ।   

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको हो। 

मन्त्रिपरिषद्को निर्णयअनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव र परामर्श दिन उक्त पद सिर्जना गरिएको हो। 

कार्कीलाई विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णयसँगै रिक्त हुने प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। 

प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय भएको हो। 

प्रकाशित: १८ कार्तिक २०८३ १४:३२ बुधबार