राजनीति

दाहाल भन्छन् : प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो?

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले रसुवा बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनाका काममा सरकारले सबै राजनीतिक दल र सांसदलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्। 

रसुवा बाढीपछि बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सर्वदलीय बैठकमा सबै दलले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सरकारको नेतृत्वले त्यसअनुसार सबैलाई साथमा लिएर अघि बढ्न नसकेको बताए। 

उनले प्रधानमन्त्री संसद्मा आएर बाढीको अवस्थाबारे ब्रिफिङ गरेकोमा धन्यवाद दिँदै अन्य राजनीतिक दल तथा सांसदका अनुभव र सुझावलाई समेत सरकारले महत्व दिनुपर्ने बताए। 

‘उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ। अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्ने तिर उहाँको ध्यान जानुपर्छ,’ प्रचण्डले भने, ‘संसद्लाई विश्वासमा लिने भनेको खाली प्रतिपक्षका सांसदलाई मात्रै होइन।’ 

प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दाहालले प्रधानमन्त्री संसद्मा आएर सांसदहरूसँग संवाद नगरी फर्किनु उचित नभएको बताए। प्रधानमन्त्री सबैको भएकाले संकटका बेला सबै पक्षसँग संवाद र समन्वय गर्नुपर्ने उनको भनाइ छ।

‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ। यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि,’  उनले भने। 

दाहालले आफूहरू सरकारलाई सहयोग गर्न तयार रहेको दोहोर्‍याउँदै अहिलेको संकटलाई सरकारले अवसरका रूपमा लिनुपर्ने बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवबाट सिक्दै विपद् व्यवस्थापनमा प्रभावकारी नेतृत्व र समन्वय आवश्यक रहेको बताए।  

‘यत्रो ठूलो अवसर प्राप्त छ, यो अवसर गुम्न दिन हुँदैन। यस्तो बेलामा हामीले गर्नुपर्ने संकल्प भनेको धेरै लामो भाषण होइन। हामीलाई नेतृत्व खोजेको छ देशले। जनताले आश्वासन खोजेका छैनन्, हरेक ठाउँमा सरकारको उपस्थिति खोजेका छन्,’ दाहालले भने।   

प्रकाशित: १७ भाद्र २०८३ १४:५८ बुधबार