नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू संस्थागत भए पनि ती क्रान्तिका सपनाहरू अझै अधुरै रहेको बताएका छन्।
उनले ती सपनाहरूलाई यथार्थमा बदल्न अब एक निर्णायक र अन्तिम संघर्ष आवश्यक रहेकोमा जोड दिए।
शनिबार पेरिसडाँडामा आयोजित ‘शहीद प्रतिष्ठान नेपाल’ को साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान व्यवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको र अब जनताको अधिकार सुनिश्चित गर्न अर्को संघर्षको तयारी गर्नुपर्ने बेला आएको बताए।
उनले गणतन्त्र स्थापनाका लागि विभिन्न शक्तिसँग सम्झौता गर्नुपरेको स्मरण गर्दै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले सामन्ती निरंकुश तन्त्रविरुद्ध विभिन्न शक्तिसँग सम्झौता गरेका थियौं। ती सबै शक्तिहरू क्रान्तिकारी थिएनन्। त्यसैले अहिलेको व्यवस्थाले जनताको वास्तविक सपना पूरा गर्न सकेन।’
दाहालका अनुसार यही अपूर्णता र जनअपेक्षा पूरा हुन नसक्दा जनतामा आक्रोश बढेको छ। हालैको जेन-जी आन्दोलनलाई इंगित गर्दै उनले भने, ‘भ्रष्टाचारविरुद्ध सडकमा निस्केका युवाहरूले देखाएको असन्तुष्टि र आक्रोशले देखाउँछ, क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। यो नै अन्तिम संघर्षको प्रारम्भिक संकेत हो।’
दाहालले शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्यागले स्थापित गरेको एजेन्डालाई पूर्णता दिन र प्रतिक्रान्तिको खतरालाई परास्त गर्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे।
प्रकाशित: १५ कार्तिक २०८२ १५:३८ शनिबार