राजनीति

माओ जन्मजयन्तीमा दाहालको अपिल : मतभेद बिर्सेर एकताबद्ध बनौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन्।

माओत्सेतुङको १३३औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने बाटोमा अग्रसर हुन अनुरोध गरेका छन्।

हेर्नुस् उनको शुभकामना सन्देश
माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको शुभकामना

विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता अध्यक्ष माओत्सेतुङको १३३ औँ जन्म दिवसको अवसरमा समुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायमा हार्दिक क्रान्तिकारी अभिवादन व्यक्त गर्दछु।

आज विश्व साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको छ, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढिरहेको छ र जनताको जीवन दिनानुदिन संकटग्रस्त बन्दै गएको छ। यही परिस्थितिमा अध्यक्ष माओका विचार, उहाँले गर्नुभएको संघर्ष, सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण र जनताको स्वामित्वमा आधारित लोकतन्त्रको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक छन्।माओले देखाउनुभएको बाटो केवल इतिहासको विषय होइन, बरु राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, उत्पीडित वर्गलाई मुक्त गर्ने, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने आजको व्यावहारिक मार्गदर्शन समेत हो।

हामीले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा गरिसकेका छौँ। यस प्रक्रियाले हाम्रो वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। यस परिस्थितिमा मार्क्सदेखि लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका सबै योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अगाडि बढ्नु कम्युनिस्ट क्रान्तिकारीहरूको कार्यभार बनेको छ।

माओलाई स्मरण गर्दा एउटा बिर्सिनै नहुने सत्य के हो भने अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक र राजनीतिक सङ्घर्ष बिना समाजवादी क्रान्ति सफल हुन सक्दैन। विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविक र सार्थक अर्थ पनि हो।

त्यसैले आज माओ दिवसको अवसरमा म सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गर्दछु। कमरेड माओप्रति श्रद्धासुमनसहित सबैमा हार्दिक शुभकामना।

प्रकाशित: ११ पुस २०८२ १०:४१ शुक्रबार