नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन्।
आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो। सो अवसरमा ‘टंकमणि: एक क्रान्तिबीज’ पुस्तकको विमोचन पनि गरिएको थियो।
सो अवसरमा अध्यक्ष दाहालले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्वपूर्ण रहेको स्मरण गरे। उनले टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको बताए।
दाहालले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको उल्लेख गरे।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको बताए। उनले उपमहानगर सबै पक्षलाई समेटेर अघि बढिरहेको र परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा उपमहानगरले कदर गरेको जिकिर गरे।
पाण्डेले आफूहरू कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्किए पनि पालिकामा गठबन्धनको मर्मअनुसार काम गरिरहेको स्पष्ट पारे।
कार्यक्रममा पार्टीका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता–कार्यकर्ताको उपस्थिति थियो।
स्व. टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो।
प्रकाशित: १५ भाद्र २०८२ १५:३४ आइतबार