राजनीति

दाहालले भने- राष्ट्र बचाउने जिम्मामा हामी कुनै जेन-जी भन्दा कम छैनौं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्र र समाजवादप्रतिको जिम्मेवारी बोक्ने सवालमा आफूहरू अहिलेको नयाँ पुस्ता अर्थात् जेन-जी भन्दा कम नभएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले उमेरले आफूहरू उत्तरार्द्धमा भए पनि जोस र जिम्मेवारीमा युवाभन्दा पछि नपरेको दाबी गरेका हुन्।

‘हुन त हामी उमेरको हिसाबले धेरैजसो नेताहरू उत्तरार्द्धतिर छौँ,’ सम्बोधनका क्रममा दाहादले भने, ‘तर, राष्ट्रप्रतिको जिम्मेवारी, यो राष्ट्र जसरी भए पनि बचाउनुपर्छ र समाजवादको यात्रा अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम पनि छैनौँ।’

उनले आफूहरू जेनजी पुस्ताको असली अभिभावक बन्न चाहेको बताए। युवाहरूलाई सही मार्गनिर्देश गर्दै उनीहरूको तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ थियो। ‘हामी अन्तिम समयसम्म त्यो भूमिका पूरा गर्न चाहन्छौँ,’ उनले थपे।

सम्बोधनका क्रममा दाहालले पदमा टाँसिरहने रहर नभएको समेत स्पष्ट पारे। सक्रिय राजनीति गर्ने वातावरण बने पद ओगटिरहने मानसिकतामा आफूहरू नरहेको उनको जिकिर थियो।

‘यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भन्ने होलान्, हामी पद भइराख्नुपर्छ भन्ने छैन,’ दाहालले भने, ‘हामीलाई सक्रिय राजनीति गर्ने वातावरण बन्यो भने पद हाम्रो लागि ठूलो कुरा होइन।’

पार्टी एकतालाई एउटा आन्दोलनको संज्ञा दिँदै उनले अहिलेको मुख्य उद्देश्य निर्वाचनको वातावरण बनाउनु रहेको बताए। उनले नेपाली कम्युनिस्ट पार्टीले युवाहरूको आवाजलाई मुखरित गर्ने दाबी समेत गरे।

प्रकाशित: ११ मंसिर २०८२ १७:१७ बिहीबार