राजनीति

दाहालले भने - म मजदुरको छोरा हुँ, जनताको सेवक हुँ, प्रधानमन्त्री बन्ने रुचि छैन

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन्।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै उनले आफू सधैं किसान–मजदुरको छोरा र जनताको सेवकका रूपमा रहन चाहेको स्पष्ट पारे।

समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि दाहाललाई पुनः प्रधानमन्त्रीको रूपमा देख्न चाहेको धारणा राखेपछि जवाफमा दाहालले पदका लागि मरिहत्ते गर्ने आफ्नो स्वभाव नभएको बताएका हुन्।

‘मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने लागेको छैन, प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति मरिहत्ते गर्ने इच्छा पनि छैन,’ संयोजक दाहालले भने, ‘तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने मेरो प्रकृति पनि होइन।’

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले दाहलको काम र व्यक्तित्वको प्रशंसा गरेपछि भावुक हुँदै उनले आफूलाई भगवान नभई सेवकको रूपमा बुझिदिन आग्रह गरे।

‘उहाँले आफ्नो भावना व्यक्त गर्नुभयो, तर म भगवान होइन,’ दाहालले भने, ‘तपाईंहरूकै सेवाका निम्ति धेरै वर्षदेखि समर्पित एउटा सेवक हुँ, किसान–मजदुरको छोरा हुँ।’

देशमा  भदाैं २३ र २४ गते भएका घटनाक्रमलाई स्मरण गर्दै उनले राज्यको लापरबाहीले ‘राज्यविहीनता’ जस्तै अवस्था सिर्जना भएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग हुँदा ठूलो क्षति भएको भन्दै चिन्ता व्यक्त गरे।

दाहालले आफू सरकारमा हुँदा वा नहुँदा पनि बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन निरन्तर लागिपर्ने स्थानीयसँग प्रतिबद्धता जनाए।

प्रधानमन्त्री हुँदा सिंहदरबारमा यसबारे पटक–पटक उच्चस्तरीय बैठक राखेको स्मरण गर्दै उनले राष्ट्रिय गौरवका आयोजनामा राजनीति हुन नहुने उल्लेख गरे।

साथै, उनले ‘बेरुजु–विहीन’ र उच्च कार्यक्षमतासहित बेनिघाट रोराङ गाउँपालिकालाई देशकै नमुना बनाएकोमा अध्यक्ष थपलिया र स्थानीय बासिन्दाको प्रशंसा समेत गरे।

प्रकाशित: १० मंसिर २०८२ १८:१५ बुधबार