राजनीति

साइबर ब्युरोले बुझ्यो बालेनविरुद्धको उजुरी, दर्ता हुन बाँकी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा एमाले निकट युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दिएको छ।

मेयर शाहले सामाजिक सञ्जालमा राखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र राष्ट्रियतामा खलल पुर्‍याएको भन्दै संघका नेताहरू उजुरी लिएर ब्युरो पुगेका हुन्।

युवा संघका अध्यक्ष क्षितिज थेबेले नेपालको स्वाधीनतामाथि नै आँच आउने किसिमको स्टाटस लेखेकाले कारबाहीको माग गर्दै उजुरी दिएको बताए। 

मेयर शाहले शनिबार मध्यराति सामाजिक सञ्जालमा आपत्तिजनक शब्द प्रयोग गर्दै एक स्टाटस लेखेका थिए।

अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी देश चीन र भारतसहित अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए।

लेखेको केहीबेरमा आलोचना सुरू भएपछि बालेनले उक्त पोस्ट आफ्नो वालबाट हटाए पनि सामाजिक सञ्जालभरि त्यसको स्क्रिनशट भने ‘भाइरल’ बनेको थियो।

सोही विषयलाई लिएर युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका नेताहरूले राजधानीको मेयर जस्तो जिम्मेवार व्यक्तिले अश्लील भाषा प्रयोग गरी मित्रराष्ट्र र राजनीतिक दलमाथि लाञ्छना लगाएको भन्दै कारबाहीको माग गरेका हुन्।

साइबर ब्युरोका एक अधिकारीले शाहविरुद्ध उजुरी प्राप्त भएको पुष्टि गरेका छन्। यद्यपि, उक्त उजुरी दर्ता प्रक्रियामै रहेको उनले जानकारी दिए।

‘हामीले उजुरी बुझेका छौँ, तर दर्ता भइसकेको छैन, प्रक्रियामा छ,’ ब्युरो स्रोतले भन्यो।

 

प्रकाशित: २० कार्तिक २०८२ १५:५४ बिहीबार