राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका एसपीलाई धम्क्याएको अडियो टेपबारे सरकारको ध्यानाकर्षण गराएकी छिन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भन्सार अधिकृतले तल्लो स्तरको गाली दिएको भन्दै यसबारे तत्काल छानबिन गर्न सरकारसँग माग गरिन्।
सांसद संग्रौलाले कानून, मर्यादा र ‘चेन अफ कमान्ड’को सीमा उल्लंघन हुने गरी भन्सार अधिकृतले गृह मन्त्रालय तथा सुरक्षा निकायका उच्च अधिकारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको विषय गम्भीर रहेको बताइन्।
‘एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुनी मर्यादा र चेन अफ कमान्डको धज्जी उडाउने दुस्साहस कसरी गर्न सक्छन् ?’, संग्रौलाले भनिन्, ‘सुरक्षा निकायका अधिकारीलाई सार्वजनिक रूपमा धम्की दिने र अमर्यादित शैली कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।’
यस्तो घटनाले राष्ट्रिय सुरक्षा निकाय र निजामती सेवाको मर्यादामाथि प्रश्न उठाउनुका साथै राज्य संयन्त्रको छविमा समेत गम्भीर असर पार्न सक्ने बताउँदै उनले राजस्व तथा राष्ट्रको सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने गतिविधि स्वीकार्य नहुने बताइन्।
सांसद संग्रौलाले उक्त अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न र छानबिनका क्रममा भन्सार अधिकृत दोषी देखिएमा कानूनबमोजिम कारबाही गर्न माग गरिन्।
प्रकाशित: ८ आश्विन २०८३ १२:०० बिहीबार