नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको पहिलो प्राथमिकता फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका छन्।
कांग्रेसको १५औं महाधिवेशन निर्वाचनअघि कि पछिका साथै विशेष महाधिवेशन की नियमित महाधिवेशन भन्ने विवाद पार्टीमा तीव्र बन्दै गएका बेला कोइरालाले अहिलेको बेला निर्वाचनलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्।
पार्टी २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा कोइरालाको भनाई उद्धृत गर्दै कांग्रेस नेतासमेत रहेका उनका सहयोगी भरत तिवारीले भने, ‘महाधिवेशन पनि पार्टी जीवनका लागि महत्त्वपूर्ण हुन्छ। त्यसलाई आपसी सहमतिमा टुंगो लगाउनु पर्दछ।’
त्यसका लागि पार्टीको विभिन्न तहमा छलफल र सहमतिको प्रयास जारी रहेको जनाउँदै कोइरालाले कांग्रेस एकताबद्ध भएर मुलुकलाई निकास दिनुपर्ने र दिने बताएको पनि तिवारीले जानकारी दिए।
केन्द्रीय समितिमा महाधिवेशनसहितका विषयमा पक्ष र विपक्ष नभएर सर्वसहमतिबाट निर्णयमा पुग्ने पनि उनले दाबी गरेका थिए। कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशन प्रारम्भ गर्नुपर्ने जनाउँदै कोइरालालाई भेट्न पुगेका थिए।
कांग्रेसमा महाधिवेशन मिति विवादमा सहमति नजुट्दा सोमबारका लागि सारिएको केन्द्रीय समिति बैठक बिहीबारका लागि फेरि धकेलिएको छ।
असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार नेताहरूले बोलनेक्रम सकिएको हो। तर, १५औं महाधिवेशनको मितिमा सहमति जुट्न नसक्दा कांग्रेसले निरन्तर बैठक सार्दै आएको छ।
पार्टीका सबै पक्षका नेताहरूबिचमा साझा सहमतिमा पार्टीको १५औं महाधिवेशनको कार्यतालिका ल्याउने प्रयासमा नेताहरू विभिन्न तहको छलफलमा जुटेका छन्। तर, नेताहरू आआफ्नो अडानमा कायमै रहेकाले महाधिवेशनको मितिमा अझै सहमति जुटेको छैन।
प्रकाशित: १ मंसिर २०८२ २०:५४ सोमबार