राजनीति

दरबार हत्याकाण्ड युवराज दीपेन्द्रले गराएका होइनन्: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डबारे स्थापित आधिकारिक कथामाथि प्रश्न उठाउँदै तत्कालीन युवराज दीपेन्द्र शाहले उक्त घटना गराएको भन्ने दाबी सत्य नभएको बताएका छन्।

गृहमन्त्री सुधन गुरुङले आफ्नो दोस्रो कार्यकाल सुरु गरेको दिन दरबार हत्याकाण्डको फाइल फेरि खोल्ने निर्णय गरेका थिए। 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टीको वेबसाइट तथा मोबाइल एपको परिमार्जित संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डलगत्तै युवराज दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर तयार पारिएको ‘रेडिमेड कथा’ विश्वव्यापी रूपमा फैलाइएको दाबी गरे।

उनले दरबार हत्याकाण्डको वास्तविकता अझै सार्वजनिक नभएको उल्लेख गर्दै तत्कालीन घटनाबारे फैलाइएको विवरण तथ्यमा आधारित नभएको बताए। विश्वका प्रमुख सञ्चारमाध्यमहरूले समेत घटनाको स्वतन्त्र अनुसन्धान नगरी एउटै कथालाई आधार बनाएर प्रचार गरेको भन्दै उनले आश्चर्य व्यक्त गरे।

सोही कार्यक्रममा ओलीले वर्तमान सरकार लोकतान्त्रिक मूल्यविपरीत अघि बढिरहेको आरोप लगाए। केही दिनअघि कीर्तिपुरमा जेनजी अभियन्ता माजिद अन्सारीमाथि भएको प्रहरी व्यवहारको उल्लेख गर्दै उनले शान्तिपूर्ण गतिविधिमाथि समेत दमन भइरहेको बताए।

विराटनगरमा भएको विरोध प्रदर्शनलाई समेत स्वतन्त्र रूपमा गर्न नदिइएको दाबी गर्दै ओलीले सरकार फासिवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाए।

उनले सञ्चारमाध्यमका कार्यालयअगाडि सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनामा पनि सरकारकै संलग्नता रहेको आरोप लगाए। त्यस्ता गतिविधिमा संलग्नमाथि कुनै कारबाही नभएको उल्लेख गर्दै उनले राज्य संयन्त्रको दुरुपयोग भइरहेको टिप्पणी गरे।

सरकारका पछिल्ला गतिविधिले जनताको सहिष्णुता र लोकतान्त्रिक अधिकारमाथि आघात पुगेको दाबी गर्दै ओलीले लोकतान्त्रिक शासन प्रणालीमा यस्ता अभ्यास स्वीकार्य नहुने बताए।

प्रकाशित: १ श्रावण २०८३ १४:३६ शुक्रबार