नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा विभिन्न राजनीतिक शक्तिहरूका परस्पर विरोधी चाहनाका कारण संकटपूर्ण अवस्था सिर्जना भएको बताएका छन्।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले देशमा विभिन्न खालका तत्वहरू सक्रिय रहेको र उनीहरूका आ-आफ्नै स्वार्थ रहेको धारणा व्यक्त गरे।
‘मुलुकमा अझै दंगा-फसाद भए हुन्थ्यो र आफ्नो दुनो सोझ्याउन पाए हुन्थ्यो भन्नेहरू पनि छन्,’ खनालले भने, ‘उनीहरू यो चुनाव पनि नहोस् भनेर अर्को आन्दोलन गर्छौं भनेर धाकधम्की दिनेहरू पनि छन्।’
नेता खनालले राजनीतिक दलहरूबीचमै पनि साझा धारणा बन्न नसकेकोतर्फ संकेत गरे। उनले भने, ‘धेरैजसो राजनीतिक पार्टीहरू निर्वाचन होस् भन्ने चाहना राख्छन्। कतिपय पार्टीले होइन, यो निर्वाचन गराउनै सक्दैन यो सरकारले, त्यस हुनाले संसदकै पुनर्स्थापना होस् भन्ने चाहना राख्ने छन्।’
यस्तो जटिल परिस्थितिमा राष्ट्रपति संस्थाले सबैलाई बोलाएर छलफल गराउन सक्ने भए पनि त्यसबाट समाधान निस्किनेमा उनले आशंका व्यक्त गरे।
‘राष्ट्रपतिले मान्छेलाई भेला गरेर कुराकानी गर्न त सक्छ, तर उनीहरूलाई साँच्चै ‘कोअर्डिनेट’ गरेर एउटा बाटो देखाउन गाह्रो पर्छ,’ उनले भने, ‘राष्ट्रपतिले देखाएको बाटोमा सहमति नहुन सक्छ।’
खनालले वर्तमान सरकारलाई आम राजनीतिक पार्टीहरूले जनताको सरकारको रूपमा नमानिरहेको र कतिपयले असंवैधानिक समेत भन्ने गरेको उल्लेख गरे।
यस्तो अवस्थामा सरकारले गम्भीरतापूर्वक पाइला चाल्नुपर्नेमा उनले जोड दिए।
‘अहिलेको सरकारले धेरै गम्भीरतापूर्वक पाइला चाल्नुपर्ने म ठान्छु,’ उनले भने, ‘उसको दिमाग बढी फराकिलो हुन जरुरी छ, धेरै चिजहरूलाई अटाउन सक्ने र धेरै कुराहरूसँग अन्तरक्रिया गर्न सक्ने दिमाग नहुने हो भने यो प्रोसेसलाई सही दिशामा लान सहजीकरण गर्न नै सम्भव हुँदैन।’
प्रकाशित: १७ कार्तिक २०८२ १५:३६ सोमबार