नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकबाटै माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्न लागेको एक नेताले बताए ।
बैठकस्थलमै रहेका नेकपा एकीकृत समाजवादीका नेताले नागरिकसँगको कुराकानीमा भने, ‘हामी पार्टी एकताका पक्षमा छौँ । विगतदेखि नै पार्टी भित्र एकताको कुरा मोटामोटी भइसकेको छ । केन्द्रीय समितिमा बोल्ने अधिकांशले त्यही कुरालाई जोड दिनुभएको छ । पार्टीको विगतको निर्णयलाई आज केन्द्रीय समितिले अनुमोदन गर्ने हो ।’
पार्टीभित्रकै नेताहरूले पुनर्गठनको आवाज उठाउँदै माओवादीसँग नजाने भन्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘हो केही साथीहरूले भन्नुभएको पनि छ । उहाँहरू आफ्नो विचार राख्न स्वतन्त्र हुनुहुन्छ । तर पार्टीको बहुमत सदस्य एकताको पक्षमा हुनुहुन्छ । खाका के हुने, कसरी जाने भन्ने विषयमात्र हो । हामी मोटामोटी पार्टीबाट आजै निर्णय गर्छौँ । एक महिनाभित्र पार्टीको एकता हुनेछ ।’
पार्टीका अर्का नेता विरोध खतिवडाले पनि माओवादीसँगको एकताबारेको निर्णय आजै गर्ने बताए । केन्द्रीय समिति जारी रहँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले यही महिनाभित्र पार्टी एकता घोषणा हुने पनि दावी गरे ।
खतिवडाले भने, ‘हामी समग्र एकताका लागि पहल गरिरहेका छौँ । एमाले बाहेकका अरु पनि यसमा आउँछन् । एमालेभित्रको अन्तसंघर्ष र द्वन्द्वले पनि काम गर्छ । एकताका लागि सबै पक्ष सकारात्मक नै छन् । सम्भवत: आज एकताको निर्णय हुन्छ । अनि राष्ट्रिय भेला गरेर यही महिना एकता घोषणा पनि हुन्छ ।’ अब यी दुई दल मिलेर मूलधारको कम्युनिष्ट पार्टी बनाउन लागेको पनि उनले बताए ।
असहमति जनाउने नेता पनि उत्तिकै
नेकपा एकीकृत समाजवादीकै केही नेताले भने माओवादी केन्द्रसँग पार्टी एकता नहुने दावी गरेका छन् । एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले माओवादीसँगको हालको प्रक्रिया वाम एकता नभई मात्र पार्टी मर्जर हुने बताउँदै यसले कम्युनिष्ट आन्दोलनलाई थप कमजोर बनाउने बताइन । उनले भनिन्, 'यो वाम एकता होइन, दुई पार्टीबीचको मर्जर हो । वाम शक्तिहरूबीच समग्र संवाद बिना गरिएको यस्तो मर्जरले आन्दोलन बलियो होइन, कमजोर बनाउँछ।'
उनका अनुसार पार्टी मर्जरको हालको दिशा वामपन्थी आन्दोलन सुदृढ गर्नेभन्दा पनि पार्टीभित्र तानाशाही प्रवृत्ति बढाउने खतरा छ । उनले एमालेलगायत अन्य वाम दलहरूसँग संवाद नगरी गरिएको एकता प्रक्रियाले विद्यमान समस्या समाधान गर्न नसक्ने बताइन् ।
पार्टीको सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाललगायतले एकतामा नजाने बताइसकेका छन्।
स्थायी कमिटी सदस्यहरू विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पनि माओवादी केन्द्रसँग एकतामा नजाने भएका छन् । पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अशेष घिमिरे पनि एकता प्रक्रियामा नजाने योजनामा रहेको पार्टीका एक नेताले बताएका छन् ।
प्रकाशित: १४ कार्तिक २०८२ १८:५२ शुक्रबार