राजनीति

माधव–झलनाथ ‘वाक युद्ध’ चलेका बेला नेकपा एसमा बैठक आह्वान

नेकपा एकीकृत समाजवादीका शीर्ष दुई नेता अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच पछिल्लो समय ‘वाक युद्ध’को स्थिति छ। नेकपा एमालेबाट विभाजनको विषयमा सम्मानित नेता खनालले प्रतिक्रिया दिएपछि दुवै नेताबिच एकअर्काविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने क्रम चलिरहेको छ। 

यसरी पार्टीका प्रमुख नेता नै एक अर्का विरुद्ध विष वमन गर्न थालेपछि सिङ्गो पार्टी वृत्त तरंगित छ। यस्तोमा दुई नेताबिच भनाभने स्थिति चलेपछि अन्य नेताले सामसुमको प्रयास गर्दा पनि सम्भव नभएको स्रोत बताउँछ। 

यही बिचमा नेकपा एसले पार्टीका सबैजसो कमिटीका बैठक बोलाइएको छ। पार्टी उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाका अनुसार सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक बोलाइएको छ। 

उनका अनुसार साउन २८ गते सचिवालय बैठक, भदौ ४ गते स्थायी कमिटी, ५ गते पोलिटब्युरो र ७–८ गते केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ। 

बैठकहरूमा अध्यक्षको राजनीतिक प्रतिवेदन, समसामयिक राष्ट्रिय राजनीति, पार्टीको अधिवेशन र विभिन्न अभियानको समीक्षालगायतमा छलफल हुने प्रवक्ता ज्वालाले बताए। 

प्रकाशित: २४ श्रावण २०८२ १२:४२ शनिबार