राजनीति

निर्वाचन आयोगमा नेकपा (माओवादी) दर्ता, महासचिवमा विप्लव

फाइल तस्बिर

प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपा (माओवादी) निर्वाचन आयोगमा दर्ता भएको छ। 

यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट राजनीतिक गतिविधि गर्दै आएका चन्दले नेकपा (माओवादी) नाम राखेर आयोगमा दर्ताका लागि निवेदन दिएका थिए। उनको दल दर्ताको प्रमाणपत्र अहिले २ बजे दिने तयारी आयोगको छ। 

दल दर्ताको निवेदन दिने क्रममा नेकपा पहिला नै दर्ता भएकाले उनले कम्युनिष्ट पार्टी नेपाल (कपाने) को नाम राखेका थिए, तर अहिले दर्ताको समयमा भने सशस्त्र द्वन्द्वकालको नाम नेकपा (माओवादी) नै कायम भएको हो।

गुलाबको फूल चुनाव चिन्ह रहने गरी चन्दको दलको केन्द्रीय समिति एक सय ५ सदस्य हुनेछ। महासचिवमा चन्द र प्रवक्तामा खड्कबहादुर विश्वकर्मा छन्। पार्टीको स्थायी समिति ६ सदस्य र पोलिटब्युरो २५ सदस्य रहनेछ।

नेकपा (माओवादी)को केन्द्रीय समितिमा १६ जना कालिकोटका, १२ जना रोल्पाका र ५ जना कपिलवस्तुका छन्। १०५ केन्द्रीय समितिमा ३५ जना महिला र १६ जना दलित रहेको आयोगले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८२ १३:२९ मंगलबार