राजनीति

बालेन लक्षित केदार- बालबालिकालाई श्रद्धाञ्जलीसमेत दिन नजाने कायरहरू अंश लिन निर्वाचनमा आए

नेपाली कांग्रेसका सांसद एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसका वरिष्ठ नेता बालेन शाहको नेतृत्व शैलीप्रति प्रहार गरेका छन्।

कोशी प्रदेशसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले ‘नयाँ’ भनिने दलहरूले बालबालिका र जेन-जीलाई आन्दोलनमा प्रयोग गरेर रगतको राजनीति गरेको आरोप लगाए।

उनले नाम बालेनलाई ‘कायर’ को संज्ञा दिए। कार्कीले आन्दोलनका क्रममा बालबालिका र युवाहरू हताहत हुँदा वा शहीद हुँदा श्रद्धाञ्जली दिनसमेत नजाने तर चुनावको बेला भने ‘अंश’ (भोट/सत्ता) खोज्न आउने प्रवृत्ति हाबी भएको टिप्पणी गरे।

‘लुकेर झगडा गर्न बालबालिका उकास्ने, आन्दोलनमा उनीहरू शहीद भएपछि श्रद्धाञ्जली दिनसमेत नजाने कायरहरू अहिले दाहसंस्कार भइसकेपछि अंश लिनका लागि झगडा गरिरहेका छन्,’ आक्रोश पोख्दै कार्कीले भने, ‘बच्चाको रगत बोकेर, रगत बेच्न हिँड्नेहरूलाई बालबालिकाको आत्माले सराप्दैन ?’

बालेन र रास्वपाको मुख्य भोट बैंक मानिने जेन-जी पुस्तालाई भावनामा बगाएर सडकमा उतारिएको तर नेतृत्वले जिम्मेवारी नलिएको कार्कीको आरोप थियो।

‘आन्दोलनमा ज्यान जेन-जीले दिने, तर वार्ता गर्न हजुरआमा जाने ? अनि सरकार हजुरआमाले बनाउने ?’ कार्कीले प्रश्न गरे, ‘जेन-जीको सरकार बनाउने भनेको होइन ? खै त जेन-जीको सरकार ?’

उनले भदौ २३ र २४ को घटनालाई स्मरण गर्दै दलहरूले एक अर्कालाई दोषारोपण गरेर उम्किन खोजेको बताए।

सांसद कार्कीले रास्वपा र रास्वपा नेताहरूतर्फ लक्षित गर्दै स्यालले बाघको छाला ओढ्दैमा बाघ नहुने भन्दै व्यंग्य गरे।

रास्वपाका मन्त्रीहरूको भनाइ र गराइमा एकरूपता नभएको भन्दै उनले आलोचना गरे। ‘खाडीमा मान्छे जाँदैनन्, गएकालाई फर्काउँछौं भन्ने रास्वपाकै श्रममन्त्रीले श्रमिक पठाउन सम्झौता गरेको होइन ?’ कार्कीले भने, ‘नकचरो भयो भने केही लाग्दो रहेनछ।’

प्रकाशित: २८ माघ २०८२ २२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App