प्रतिनिधिसभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताए । उनले जनताको सुशासन र तीव्र आर्थिक विकासप्रतिको अपेक्षाअनुरूप कानून निर्माण, प्रभावकारी कार्यकारी निगरानी, रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा प्रतिनिधि सभा दृढतापूर्वक लागिरहेको बताए ।
सभामुख अर्यालले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि पारस्परिक सम्मान, विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गरेका छन् । दुवै देशले लोकतन्त्र, मानव अधिकार तथा स्वतन्त्रताजस्ता साझा मूल्यहरूलाई आत्मसात् र सम्मान गर्दै आएको पनि उनले बताए ।
उनले आगामी वर्ष नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठ मनाइने सन्दर्भ उल्लेख गर्दै उक्त अवसरले दुई देशबीच आठ दशकदेखि कायम मित्रता, सहकार्य तथा साझेदारीको समीक्षा गरी भावी सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरका सन्दर्भमा संसदीय भ्रमण आदानप्रदान कार्यक्रम आयोजना गरी दुवै देशका संसद् तथा जनप्रतिनिधिहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउन सकिने धारणा राखिएको छ।
भेटमा सभामुख अर्यालले नेपाल–अमेरिका संसदीय मैत्री समूहको पुनर्गठनको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै अमेरिकी विधायिकामा समेत नेपाल–अमेरिका मैत्री समूहको पुनर्सक्रियता आवश्यक रहेको उल्लेख गरे। यस्ता मैत्री समूहहरूले संसदीय सम्बन्ध, व्यापार, लगानी, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
सभामुख अर्यालले संयुक्त राज्य अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदारका रूपमा रहँदै आएको उल्लेख गर्दै सन् १९५० को दशकदेखि नेपालको सामाजिक तथा आर्थिक विकास, संस्थागत सुदृढीकरण तथा मानव पुँजी विकासमा अमेरिकाले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे । उनले नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको तथा आगामी दिनमा पनि अमेरिकाको सहयोग र समर्थन निरन्तर रहने अपेक्षा गरेका छन् ।
कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धता जनाए । उनले लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताए।
नेपाल र संयुक्त राज्य अमेरिकाबीच २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। संयुक्त अधिराज्य (बेलायत) पछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो देश अमेरिका हो । नेपालले फेब्रुअरी १९५८ मा वाशिंगटन डी.सी.मा आफ्नो दूतावास स्थापना गरेको थियो भने अमेरिकाले अगस्ट १९५९ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।
प्रकाशित: २८ जेष्ठ २०८३ २०:२५ बिहीबार