राजनीति

सभामुख अर्याल र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ। 

भेटमा सभामुख अर्यालले राजदूत मेउल्लीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्याण्डबिच प्रगाढ र उत्कृष्ट सम्बन्ध कायम रहेको बताए। उनले नेपालले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै यो मित्रता पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको धारणा व्यक्त गरे। 

सभामुख अर्यालले स्विट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासका लागि विश्वमै उदाहरण रहेको चर्चा गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयत्न गरिरहेको जानकारी गराए। 

सो अवसरमा सभामुखले नेपालको सामाजिक-आर्थिक विकासमा स्विस विकास तथा सहयोग निकाय मार्फत पुर्याइएको योगदानको उच्च प्रशंसा गरे। 'नेपाल अझै पनि स्विट्जरल्याण्डको प्राथमिकता प्राप्त देशको सूचीमा रहेकोमा हामी खुसी छौं,' सभामुख अर्यालले भने, 'आगामी दिनमा यो विकास सहकार्यको दायरा थप विस्तार हुनेमा म विश्वस्त छु।'

प्रकाशित: २६ चैत्र २०८२ १७:४४ बिहीबार