राजनीति

चुनदेवीको नेमप्लेट विवादको जिम्मा अदालतको हो : उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनदेवीको नेमप्लेटसँग सम्बन्धित विषयमा आफूले थप केही भन्न आवश्यक नरहेको बताएका छन्।

दोस्रो झापा-१ काठमाडौं कप फुटसल प्रतियोगिताका क्रममा सञ्चारमाध्यमसँग कुरा गर्दै शर्माले विशेष महाधिवेशनबाट आएको विषय भएकाले यसको निरूपण सम्बन्धित कानुनी प्रक्रियाबाटै हुने बताएका हुन्।

चुनदेवीको नेमप्लेटको विषयमा प्रश्न गर्दा उनले उक्त विषयको जिम्मेवारी अदालतकै रहेको स्पष्ट पारे। अदालतमा विचाराधीन विषयमा आफूले थप टिप्पणी गर्न नचाहेको उनको भनाइ छ। ‘यस विषयमा केही भन्नु छैन, सबै जिम्मा अदालतको हो,’ शर्माले भने।

शर्माले कांग्रेसभित्र पनि विधि र प्रक्रिया महत्वपूर्ण रहेको बताए। उनले खेलमा विधि र नियम भएजस्तै राजनीतिक दलभित्र पनि विधि र प्रक्रिया हुने भन्दै त्यसको पालना गर्नुपर्ने धारणा राखेका छन्।

निवर्तमान सभापति शेरबहादुर देउवालाई सभापति भनेर सम्बोधन गर्दै नेमप्लेट राखेपछि विवाद बढेको हो। कांग्रेस नेता कान्छाराम तामाङले कसैलाई नसोधी देउवाको नेमप्लेट राखेको बताएका छन्।

प्रकाशित: ३० श्रावण २०८३ १४:१५ शनिबार