राजनीति

कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैन : नेता गुरुङ

'साम्राज्यवादी आक्रमणको निशाना तीन दल, कम्युनिस्ट टुटफुटका कारण मुलुकले ठूलो क्षति व्यहोर्नुपर्‍यो'

फाइल तस्बिर

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता देवप्रसाद गुरुङले कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव नभएको बताएका छन्।

पुष्पलाल मित्रता केन्द्रद्वारा ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचारगोष्ठीमा नेता गुरुङले कम्युनिष्ट एकताबाट मात्र मुलुकको विकास, समृद्धि र रक्षा हुने बताए। साम्राज्यवादी आक्रमणको निशाना अहिले तीन दल रहेको बताउँदै उनले कम्युनिस्ट टुटफुटका कारण मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए।

नेता गुरुङले भने, 'कम्युनिष्ट एकता अपरिहार्य सर्त भएको छ। अहिले कार्यगत एकता भएको छ। अब ढिलोचाँडो नेकपा (एमाले) सँग एकता हुन्छ। कम्युनिष्ट एकताबिना राष्ट्र नै नरहने खतरामा रहेका कारण एकता अनिवार्य भएको हो।'

देशमा बृहत् कम्युनिष्ट एकता गर्ने लक्ष्यका साथ सबै कम्युनिष्ट घटक एक ठाउँमा ल्याउने प्रक्रियाका लागि दुवै दलका शीर्ष नेतृत्व अगाडि बढेको उनले बताए। बृहत् शान्ति सम्झौताकर्ता दल एक भएर राष्ट्रियस्तरमा साम्राव्यवादका विरुद्ध लड्नुपर्नेमा कम्युनिष्ट आफैँ कोही सत्ता र कोही बाहिर रहेर एकापसका लडेका कारण गत भदौ २३ र २४ गते घटना सृजना भएको नेता गुरुङको भनाइ थियो।

नेपाली कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले पद, शक्ति र सत्ता प्राप्ति नभई राष्ट्र तथा राष्ट्रियताको रक्षाका लागि एकता आवश्यक भएको बताए। नेकपा (एमाले) सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, नेकपा क्रान्तिकारी पार्टीका नेता निरक केसी, नेकपाका प्रदेश संयोजक विमला केसीलगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ३१ श्रावण २०८३ ०६:३५ आइतबार